राजविराज– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका डाक्टरहरुले बिहीबारदेखि अस्पताल बाहिरै बिरामी जाँच्न थालेका छन्।
सरकारले अगाडि बढाएको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै देशव्यापी रुपमा डाक्टरहरु आन्दोलनमा छन्।
सरकार र चिकित्सकको लडाईंमा बिरामीलाई पीडित बनाउन नहुने भन्दै अञ्चल अस्पतालका डाक्टरहरु बिरामी जाँच्न तयार भएका हुन्। ‘हाम्रो आन्दोलन सरकार र सरकारले तयार गरेको अध्यादेशको व्यवस्था विरुद्ध हो। बिरामीलाई मर्कामा पार्नु हाम्रो धर्म विपरीत हुन्छ,’ डा रन्जित झाले भने, ‘सबैको सल्लाह अनुसार बाहिर बसेर सेवा सुचारु गरेका छौं।’
झासहित दिलिप साह, कल्पना साहलगायतका डाक्टरहरुले कार्यकक्षमा नबसी अस्पताल बाहिरै कुर्सी राखेर बिरामीलाई सेवा दिए। डाक्टरहरु काम गर्न थालेपछि सर्वसाधारण खुसी भएका छन्।
समायोजन ऐन, २०७५ को दफा १४, १५ र १६ मा भएको सरुवा, बढुवा र वृत्ति विकाससम्बन्धी व्यवस्थामा डाक्टरहरुले असन्तुष्टि जनाएका छन्। डाक्टरहरूले समायोजन भएर गएको एक स्थानीय तहबाट अर्कोमा र एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा हुन नसक्ने तथा उनीहरू सेवा अवधिभर संघमा आउने बाटो पनि बन्द भएको भन्दै आन्दोलन सुरु गरेका छन्।
सरकारले भने समायोजन ऐनले डाक्टरहरुको सरुवा, बढुवा र वृत्ति विकासमा कुनै अवरोध नगरेको र जिम्मेवारी तोकिएको स्थानमा जानुको विकल्प नभएको बताउँदै आएको छ।