कैलाली – धनगढीस्थित सारथी अस्पतालले अनुमति नै नलिई बिहीबारदेखि सेवा दिन सुरु गरेको छ।
अस्पतालले सञ्चालनका लागि धनगढी उपमहानगरपालिका, सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयमा निवेदन दिए पनि अहिलेसम्म अनुमति पाएको छैन।
अस्पतालले नेपाल खाद्य संस्थानको सेती अञ्चल कार्यालयको गोदाम भाडामा लिएर सेवा शुरु गरेको हो। अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीले भने –‘औपचारिक उद्घाटन केही दिनमै गर्दै छौं। सेवा दिने काम भने सुरु भइसकेको छ।’
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका २०७३ बमोजिम अनुमति विना कुनै पनि स्वास्थ्य संस्थाले सेवा प्रदान गर्न नपाउने व्यवस्था छ।
निर्देशिकाको दफा ३ (१ क) मा ‘अनुमति नलिइ स्वास्थ्य सेवा सञ्चालन गरेको पाईएमा सो कार्य रोक्न तथा त्यस्तो स्वास्थ्य संस्थालाई आवश्यक कारबाहीका लागि गृहमन्त्रालयमार्फत वा सोझै सम्बन्धीत जिल्ला प्रशासन कार्यालयमा लेखी पठाइने छ र त्यस्ता संस्थाका सञ्चालकलाई भविष्यमा स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रदान नगर्ने गरि अभिलेख समेत राखिने छ’ भनी उल्लेख छ।
बिहिबारदेखि अस्पतालले रगतसम्बन्धी विशेष सेवासहित आफना सेवाहरु सुरु गरेको हो।
धनगढीमा रहेको खाद्य संस्थानको गोदाम मासिक ६५ हजार रुपैयाँमा अस्पताल प्रालिलाई भाडामा दिएको जनाइएको छ। वेदप्रकाश जोशीसहित पाँच जनाको सो अस्पतालमा लगानी छ। १५ शैय्यासहितको सो अस्पतालमा थारु समुदायमा देखिने सिकलसेलको उपचारसहितको कृत्रिम गर्भाधान, क्यान्सर लगायतको विशेष सेवा सुविधा रहने अस्पतालका प्रबन्ध निर्देशक जोशीले बताए। अस्पतालमा पाँच करोड रुपैयाँ बढी लगानी रहेको उनले बताए।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले उपमहानगरपालिकामा दुई वटा अस्पताल सञ्चालनका लागि आवेदन परेको तर स्पष्ट ऐन कानुन नबन्दा अनुमति दिन नसकिएको बताए।
पाइलैपिच्छे एकै प्रकृतिका स्वास्थ्य संस्था
सेती अञ्चल अस्पतालको निकासद्धारको सडकको पारि कैलाली अस्पताल, सिटी पोलिटेक्निक, अञ्चल अस्पतालको प्रवेश गेटको पुग्नुभन्दा सडकको पारि पट्टी झण्डै एक सय मिटरमा नोभा अस्पताल रहेको छ।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका बमोजिम ‘एकै प्रकृतिका स्वास्थ्य संस्थाहरु एक किलोमिटर राख्न नपाइने’ व्यवस्था रहेको छ।
नोभा, कैलाली र सिटी पोलिक्लिनिकले प्रदान गर्दै आएका सेवामा कुनै पनि भिन्नता नरहेको स्वास्थ्यकर्मीहरु बताउँछन्। ‘सबैले आएका विरामीलाई चेकजाँच, भिडियो एक्सरे, एक्सरे लगायतका सेवामात्र दिएका छन’ एक स्वास्थ्यकर्मीले नाम नखोल्ने सर्तमा भने ‘गम्भिर प्रकारका विरामी आए अझै भारत तथा कोहलपुर रिफर गर्नुपर्ने अवस्था रहेको छ।’
यस्तै, एकै प्रकारका क्लिनिकहरुका लागि पनि दुरी कायम गरिएपनि त्यो मापदण्ड अपनाइएको छैन।