काठमाडौं- कर्मचारी समायोजनका विषयमा असहमति राख्दै आन्दोलनरत सरकारी डाक्टर र सरकारबीच अनौपचारिक छलफल भएको छ। स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा डाक्टरलाई पुल दरबन्दीमा राख्ने विषयमा सकारात्मक वार्ता भएको छ।
सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयमा दुई सचिव डा पुष्पा चौधरी र चन्द्रकुमार घिमिरे, सहसचिवहरु महेन्द्र श्रेष्ठ र जनार्दन गरागाईं थिए भने आन्दोलनरत चिकित्सकका तर्फबाट सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डे, नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्ति श्रेष्ठ लगायतका थिए।
मन्त्रालयमा साँझ भएको छलफलमा विशेषज्ञ डाक्टर र ८ औं तहका मेडिकल अधिकृतलाई कसरी पुल दरबन्दीमा राखेर समस्याको समाधान गर्ने विषयमा वृहत छलफल भएको थियो। ‘छलफल सकारात्मक रुपमा नै अगाडि बढेको छ,’ सरकारी चिकित्सक संघका अध्यक्ष डा पाण्डेले भने, ‘आज पुल दरबन्दीमा राख्ने विषयमा छलफल भएको थियो। तर यो विषयमा थप छलफलको आवश्यकता रहेको छ।’
छलफलमा विशेषज्ञ डाक्टरलाई पुल दरबन्दीमा र मेडिकल अधिकृतहरुलाई विशेषज्ञ तहको अध्ययन गर्ने समयमा पुलमा राख्ने र अध्ययन पछि विज्ञताका आधारमा आवश्यकता अनुसारका अस्पतालमा खटाउने विषयमा सकारात्मक कुरा भएको छलफलमा सहभागि मेडिकल अधिकृत डा कुलदिप केसीले जानकारी दिए।
सरकारी डाक्टरले आफूहरुलाई संघ माताहत राखेर आवश्यकता अनुसार देशका जुनसुकै कुनामा रहेका स्वास्थ्य संस्थामा खटाउन माग गरेका छन्। सरकारी डाक्टरले एक सातादेखि अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन्। उनीहरुले अस्पताल परिसर बाहिर टेन्टबाट भने उपचारका लागि आएका बिरामीलाई सेवा प्रदान गर्दै आएका छन्।