कञ्चनपुर– कैलालीको धनगढीमा बिना अनुमति उपचार सेवा सुरु गरेको सारथी अस्पतालको मापदण्ड र अनुमति पत्रसहितको प्रमाणपत्र माग गरिएको छ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्रदेश स्वास्थ्य निर्देशनालयले अस्पताललाई तीन दिनभित्र प्रमाणपत्र पेस गर्न भनी शुक्रबार पत्र पठाएको हो।
मन्त्रालयका सचिव गोगनबहादुर हमालसँगको छलफल पछिनिर्देशनालयले सो विवरण माग गरेको निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।
‘हामीले मापढण्ड पूरा गरे नगरेको कागजपत्र र अनुमति पत्र तीन दिनभित्र उपलब्ध गराउन भनी पत्र पठाएका छौं,’ डाक्टर अवस्थीले भने,‘कागजपत्र उपलब्ध गराउन नसकेपछि सिल गरिने छ।’
डाक्टर अवस्थीको हस्ताक्षरमा निर्देशनालयले पठाएको पत्रमा भनिएको छ,‘त्यस (सारथी) अस्पतालले स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका २०७० पहिलो संसोधन २०७३ को मापढण्ड पूरा गरे नगरेको आवश्यक प्रमाणपत्रसहित आवश्यक प्रमाणपत्रसहित ३ दिनभित्र यस निर्देशनालयमा जानकारी पठाउन हुन अनुरोध छ।’
अस्पतालले अनुमतिको लागि धनगढी उपमहानगरपालिका, प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयमा निवेदन दिएको भए पनि अहिलेसम्म सञ्चालन अनुमति पाएको छैन।
नेपाल खाद्य संस्थानको सेती अञ्चल कार्यालयको गोदाम भाडामा लिएर अस्पतालले बिहीबारदेखि सेवा सुरु गरेको थियो। स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका २०७३ अनुसार 'अनुमति बिना कुनै पनि स्वास्थ्य संस्थाले सेवा प्रदान गराउन नपाउने'व्यवस्था रहेको छ।
स्वास्थ्यको स्पष्ट ऐन नबन्दा अहिले नयाँ अस्पताललाई अनुमति दिने काम कतैबाट नभएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।