काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष अघि अर्थात ०७५ सालको नयाँ वर्षको दिन मुगुको रारा ताल छेउमा बसेर देशवासीका नाममा सम्बोधन गरेका थिए। नयाँ वर्षको प्रधानमन्त्री ओलीले ३१ बुँदे संवोधन गरेका थिए। सम्बोधनका क्रममा उनले स्वास्थ्यका विषयमा पनि बोलेका थिए। तर, उनले उक्त संवोधनका क्रममा स्वास्थ्यका विषयमा गरेका कुनै पनि काम अगाडि बढ्न सकेको छैन।
यस्तो थियो स्वास्थ्यका विषयमा प्रधानमन्त्रीले गरेको सम्बोधन :
दुषण र दुषित खाद्यका कारण अहिले संक्रामक सरुवा रोगबाट मात्रै हैन, नसर्ने रोगको महामारीबाट समेत हाम्रा जनता पीडित छन्। उनीहरुको स्वास्थ्यका बारेमा चासो राख्नु राज्यको दायित्व हो।
स्वास्थ्य भनेको अस्पताल र ट्याव्लेट मात्रै हैन, स्वच्छ हावापानी, स्वच्छ वातावरण, स्वच्छ खानपान, उचित आनिवानी र दिनचर्या पनि हो।
एकचोटी सोचौं– हिऊँ पग्लिएर हामीकहाँ ओखतीको जरा पखाल्दै पानी बग्छ। औषधि पखाल्दै पखाल्दै बगेको पानी खनिजसँग मिसिंदै मिनरल पानी हुँदै आउँछ। हाम्रो हावा र पानी यसरी औषधीय छन। जहाँको खानेकुरा स्वस्थकर र पवित्र छ, प्रदुषित छैन, त्यहाँका मानिस आज रोगी?
जुन देशमा जडिबुटी छ, ढुंगा सिलाजित हुन्छ, माटो सिम्रिक हुन्छ, जुन देशमा उम्रिने झार यार्सागुम्बा, पाँच औंले, संजिवनी हुन्छ, त्यस देशमा औषधिको अभावमा मान्छे मर्ने?
यो कसरी हुन्छर?
अव यो स्थितिको अन्त्य गर्नै पर्छ।
तसर्थ, स्वास्थ्यको सन्दर्भमा नेपाललाई केही बर्षभित्र अर्गानिक नेपाल बनाइने छ।
नेपालको हावा–सहि अर्थमा प्राण वायू नेपालको पानी–जीवन जल। हाम्रो नीति उपचार केन्द्रीत हैन– आरोग्यता केन्द्रीत!
मौलिक अधिकारका रुपमा प्रत्याभूत आधारभूत स्वास्थ्यमा लगानी वृद्धि गरिने छ। स्थानीय सरकार र समुदायसँग मिलेर प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तिमा यो अधिकारको व्यवहारिक कार्यान्वयन गरिने छ। सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरिनेछ।
गरिबीको रेखामुनि रहेका जनता, बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साहित गरिनेछ।
०००
प्रधानमन्त्रीले भनेजस्तो न दुषण र दुषित खाद्यपदार्थको नियन्त्रणका विषयमा काम अगाडि बढ्यो न त अर्गानिक नेपाल बनाउने काम नै।
प्रधानमन्त्रीले जडिबुटीको धनी देशमा औषधिको अभावमा मान्छे मर्ने स्थितिको अन्त्य गर्ने पनि बताएका थिए। तर यही वर्ष देशका धेरै स्वास्थ्य संस्थामा औषधि अभाव भयो।
नेपालको हावा–सहि अर्थमा प्राण वायू नेपालको पानी–जीवन जल भनेर प्रधानमन्त्रीले संवोधनका क्रममा भनेका थिए। तर नेपालका सहरी क्षेत्रमा प्रदुषणको मात्रा झन् बढ्दै गएको छ। नेपालको हावा सहि अर्थमा प्राण वायू हुनुपर्नेमा प्राण हर्ने वायूमा परिणत हुँदै छ।
नेपालको पानी जीवन जल भनेर प्रधानमन्त्रीले भने पनि सुद्ध पिउने पानीको पहुँचमा सुधार आउन सकेको छैन। बरु उल्टै नागरिकले प्रदुषित पानीका पिउँदा झाडापखला लगायतका रोग लागेर ज्यान गुमाउनु परिरहेको खबर आइरहेको छ।