काठमाडौं– रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुका लागि आवेदन दिने म्याद सकिएको छ।
आज सोमबार अन्तिम दिनसम्म नयाँ मापदण्डअनुसार स्वास्थ्य परीक्षणका लागि २ सय ९० स्वास्थ्य संस्थाले आवेदन दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कानुन फैसला तथा कार्यान्वयन शाखाले जानकारी दिएको छ।
मलेसिया सरकारले कामदारको स्वास्थ्य परीक्षण मापदण्ड पठाएपछि सो मापदण्ड पूरा गरेका सबै स्वास्थ्य संस्थालाई आवेदन दिन सरकारले २०७५ चैत १८ गते सूचना प्रकाशित गरेको थियो।
सूचना प्रकाशित गरिएको १५ दिनभित्र आवेदन दिन मापदण्ड पूरा भएका सबै स्वास्थ्य संस्थाहरुलाई आह्वान गरिएको थियो। मलेसिया रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु यसअघि ३७ वटा मात्रै थिए।
३७ वटा संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्दै आएकोमा सिण्डिकेट रहेको भन्दै सिण्डिकेट हटाउन नयाँ सूचीकरणका लागि आवेदन खुला गरिएको मन्त्रालयले जानकारी दिएको छ।
आवेदन दिएका स्वास्थ्य संस्थाहरूबाट पनि मापदण्ड पूरा भएका स्वास्थ्य संस्थाहरूलाई छनोट गरी स्वास्थ्य परीक्षणका लागि सूचीकरण गरिने मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए।
मलेसिया रोजगारीका लागि पठाइने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको स्वास्थ्य परीक्षण मापदण्ड पूरा हुनका लागि विभिन्न भौतिक तथा मानव संसाधन हुनुपर्ने उल्लेख गरिएको छ। जसअन्तर्गत अत्याधुनिक एक्सरे मेसिन, डिजिटल रेडियोग्राफी प्रविधि, एक्सरे रिपोटिङ रुम, पर्याप्त कुर्ने रुम सहितको रेडियोग्राफी डिपार्टमेन्ट हुनुपर्ने छ।
त्यसैगरी आधुनिक प्याथोलोजी डिपार्टमेन्ट हुनुपर्ने उल्लेख गरिएको छ। जसमा एक थान माइक्रोसप मेसिन, हट एअर ओभन, पूर्ण स्वचालित इलिसा रिडर, बायोकेमेट्री एनालाइजर, युरिन एनालाइजर, वाटर बाथ, रेफ्रिजेरेटर लगायत विभिन्न १७ प्रकारका आवश्यक उपकरण हुनुपर्ने मापदण्ड तय गरिएको छ।
केमिकल एण्ड रिएजेन्ट डिपार्ट अन्तर्गत प्रेग्नेन्सी परीक्षण, मिर्गौला परीक्षण, एचआइभी परीक्षण, ब्लड ग्रुप र अन्य १४ प्रकारका परीक्षणका लागि आवश्यक केमिकल हुनुपर्ने उल्लेख छ।
मेडिकल सेन्टरमा रेडियोलोजिस्ट, प्याथोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, मेडिकल ल्याब टेक्निसियन, रेडियोग्राफर, अकाउन्टेन, मेडिकल रिपोर्ट किपर हेल्पर लगायत आवश्यकता अनुसारका कर्मचारीहरु हुनुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै खुला हल र उपयुक्त कुर्ने ठाउँ, डकुमेन्ट राख्ने उपयुक्त व्यवस्था, आवश्यक सेवा केन्द्र, डाक्टरका लागि आवश्यक सामग्रीसहित उपयुक्त कोठा, आवश्यक प्रशासकीय हल, जेनेरेटर लगायत भौतिक सुविधाहरू उल्लेख गरिएको छ।