काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज कर्मचारी समायोजन निर्देशक समितिको बैठक बस्ने भएको छ। समितिमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुको समेत सक्रिय सहभागिता रहने छ।
समितिमा कर्मचारी समायोजनका क्रममा स्वास्थ्य सेवाका कर्मचारीको समायोजनमा देखिएका समस्याका विषयमा बृहत छलफल हुने बताइएको छ। छलफलमा प्रशासन सेवाका लागि बनाइएको सफ्टवेयरका कारण स्वास्थ्यको समायोजनमा समस्या आएको विषयलाई प्रमुख रुपमा उठाइने बताइएको छ।
सफ्टवेयरले स्वास्थ्य सेवाका ४, ५, ६ र ७ औं तहको समायोजनमा विभिन्न पद र तहमा समस्या ल्याएको भन्दै यो विषयलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफलले निर्णय गर्ने छ। स्वास्थ्यका यी तहका कर्मचारीको समायोजनको सूची सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयमा गुनासो टिपाउनेको भिड बढेको छ। स्वास्थ्य मन्त्रालय र सामान्य प्रशासनमा गरी झण्डै ८ हजार गुनासो दर्ता भएको छ।
सामान्य प्रशासनले स्वास्थ्य सेवाका २७ हजार कर्मचारीको समायोजन गरेको थियो।