काठमाडौं- सरकारले ३ जना सचिवको सरुवा गरेको छ।
सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेकाे छ। सचिव घिमिरे गत माघ ९ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयकाे प्रशासनतर्फ सरुवा भएका थिए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पछिल्लाे एक महिनादेखि सचिवविहीन थियाे।
याेसँगै अब स्वास्थ्य मन्त्रालयमा एक मात्र सचिव रहने भएका छन्। यसअघि घिमिरेसहित पुष्पा चाैधरी पनि स्वास्थ्य सेवातर्फ सचिवमा बहाल थिइन्। स्वास्थ्य मन्त्रालयमा यस पटक ६ वर्षपछि दुई सचिवकाे बहाली भएकाे थियाे। कार्य व्यवस्थापन गर्न २ सचिव खटाइएकाे भनिए पनि घिमिरेलाई करिब ३ महिनामै अर्काे मन्त्रालयमा सरुवा गरिएकाे छ।
यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा खटाइएकाे छ। मन्त्रालयका तत्कालीन सचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएसँगै सचिव पद रिक्त रहेको थियो।
हालै सचिवमा बढुवा भई पदस्थापन हुन बाँकी डा हरिप्रसाद पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी दिइएकाे छ।