लहान– निःशुल्क उपचार, त्यसमा पनि विदेशी डाक्टर भन्नासाथ आँखा चिम्लेर स्वास्थ्य जाँच गराउनेको संख्या अहिले पनि ग्रामीण क्षेत्रमा धेरै छ। निःशुल्क भन्दै सञ्चालन हुने स्वास्थ्य शिविरको आधिकारिकता र विश्वसनीयताको बारेमा सोधखोज गर्ने प्रचलन बिरलै पाइन्छ।
सिरहामा यस्तै निःशुल्क शिविरमा आँखा जाँच गराएका पाँच जनाले आँखासम्बन्धी गम्भीर समस्या भोग्नुपरेको छ। शल्यक्रियापछि आँखाको दृष्टि कमजोर भएको उनीहरुले गुनासो गरेका छन्।
सिरहाको कर्जन्हा नगरपालिका– ११ स्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा गत फागुन १३ गतेदेखि तीन दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो।
‘गुड पिपुल नेपाल’ नामको एनजिओको आर्थिक सहयोगमा सञ्चालित रिचिङ द नेसन स्कुलले आयोजना गरेको शिविरमा ७७ जना सर्वसाधारणले आँखा जाँच गराएका थिए। जसमध्ये कर्जन्हा नगरपालिका– ८ थल्हाका रामझरी पासमान, कलम हुसैन, देवलाल राउत तथा गौतारीकी गोलियादेवी पासवान र विन्देश्वरी पासवानले शल्यक्रिया गराएका थिए।

शल्यक्रियापछि आँखाको दृष्टि झनै कमजोर भएको उनीहरुको गुनासो छ। अन्य सबैको आँखामा कुनै न कुनै समस्या देखिएको स्थानीयले बताएका छन्। स्थानीय विद्यालयले शिविर आयोजना गरेपछि थल्हा र आसपासका मानिसहरुले आँखा जाँच गराए।
दक्षिण कोरियाबाट आएका करिब ३० जना स्वास्थ्यकर्मीको टोलीले सर्वसाधारणको आँखा चेकजाँच गरी एक महिनासम्म लगाउनु भन्दै दुई प्रकारका औषधि पनि दिए। कोरियन भाषामा लेखिएको औषधि पढ्न सक्ने अवस्था थिएन।
स्वास्थ्यकर्मीले दिएको औषधि सोधखोज नगरी प्रयोग गर्ने प्रचलन अनुसार नै उनीहरुले पनि गरे। तर, औषधि प्रयोग गर्न थालेको केही दिनमा नै सबैलाई समस्या सुरु भएको स्थानीयले बताएका छन्।
तीमध्ये शल्यक्रिया गरेका पाँच जनाको दृष्टिमै समस्या भएको र अन्यलाई पनि आँखा चिलाउने, दुख्ने लगायतका विभिन्न समस्या देखिएको उनीहरु बताउँछन्।
रिचिङ द नेसन स्कुलका उपाध्यक्ष नागेन्द्र पासमानले भने सबै बिरामीमा समस्या नभएको बताउँदै समस्या आएका बिरामीमा पनि स्वास्थ्यकर्मी र औषधिको कारणभन्दा पनि आफ्नै लापरबाहीले भएको हुनसक्ने दावी गरे।

स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा विशेषज्ञ डाक्टरहरु राखेर शिविर चलाइएको र अनाधिकृत औषधिको प्रयोग पनि नभएको उनको भनाइ छ।
फूलकुमारी अस्पतालका मेडिकल डाइरेक्टर डा शिवशंकर साहले शिविरको सम्पूर्ण जिम्मेवारी विद्यालयकै भएको बताउँदै आफूहरुले स्थान मात्रै उपलब्ध गराएको बताएका छन्।
दोहोर्याएर जाँच र उपचार गरिन्छ : मेयर
कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानले भने शिविरको बारेमा बढी नै गलत प्रचार भएको जिकिर गरेका छन्। उनले वडा नं ६ को कार्यालयमार्फत नगरपालिकाको स्वीकृतिमै शिविर सञ्चालन भएको जानकारी दिए। शिविरका कारण कसैलाई पनि गम्भीर समस्या नदेखिएको पासमानको दावी छ।
‘गुनासो सुनेपछि हामीले सम्बन्धित व्यक्तिलाई पनि भेटेका छौं, ठूलो समस्या देखिएको होइन,’ उनले भने, ‘तर, नआउनुपर्ने गुनासो आएपछि हामीले दोहो¥याएर आँखा चेकजाँचको व्यवस्था पनि मिलाएका छौं।’
शिविरमा आँखा जाँच गराएका सम्पूर्ण बिरामीलाई लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा दोहो¥याएर चेकजाँचको व्यवस्था मिलाउन आफूले सम्बन्धित वडा कार्यालय र आयोजकलाई निर्देशन दिइसकेको र काम पनि सुरु भइसकेको मेयर पासमानको भनाइ छ।