काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीलाई सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो।
तर, सचिव डा चौधरीको सरुवाको निर्णय भने अझै गोप्य राखिएको छ। सोही दिन सरुवा भएका स्वास्थ्य मन्त्रालयकै अर्का सचिव चन्द्रकुमार घिमिरे र अरु दुई जना सचिव सरुवाको निर्णय भने सार्वजनिक भइसकेको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सचिव डा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा ल्याउने र स्वास्थ्यमा रामप्रसाद थपलियालाई पठाउने निर्णय भएको छ।
‘सोमबार नै निर्णय भइसकेको छ,’ स्रोतले भन्यो, ‘तर उहाँहरुलाई पत्र भने दिइसकिएको छैन। सम्भवतः बिहिबारको नियमित पत्रकार सम्मेलनमा निर्णय बाहिर आउँछ होला।’
स्वास्थ्यका दुई जना सचिवलाई अन्यत्र पठाएर सरकारले कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपिलयालाई ल्याउने निर्णय गरेको हो।
डा चौधरीको सरुवाको निर्णय यसअघि पनि विवादमा आएपछि सरकार ‘ब्याक’ हुनु परेका कारण यो पटकको निर्णय गोप्य राखेको हो।
सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालयमा ल्याउनका लागि सरकारले यसअघि नै दरबन्दीको व्यवस्था गरिसकेको छ।
डा चौधरीलाई सरकारले यसअघि पनि असोजमा स्वास्थ्यबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो। सचिव डा चौधरीले सरकारको उक्त निर्णयलाई चुनौती दिंदै कात्तिक १५ गते सर्वोच्च पुगेकी थिइन्।
चौधरीको निवेदनमा पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले कात्तिक १६ गते अन्तरिम आदेश जारी गरेको थियो। उक्त निर्णयपछि सचिव चौधरी स्वास्थ्यमा नै हाजिर गर्न पुगेकी थिइन्। तर, सर्वोच्चको उक्त निर्णयले कर्मचारी सरुवा गर्न पाउने सरकारको निर्णयमा हस्तक्षेप भएको भन्दै सरकारले मंसिर ५ गते भ्याकेटको निवेदन दर्ता गरेको थियो।
उक्त भ्याकेटको सुनुवाई गर्दै सर्वोच्चले पुष ३ गते अन्तरिम आदेश निरन्तर हुने आदेश गरेको हो। सर्वोच्चको यो आदेशपछि चौधरीलाई स्वास्थ्य मन्त्रालय फर्कने बाटो पुन: खुलेको थियो।
चौधरीको मुद्दा सर्वोच्चमा चलिरहेको समयमै सरकारले स्वास्थ्य सचिवमा प्रशासन तर्फका केदारबहादुर अधिकारीलाई नियुक्त गरिसकेको थियो। त्यसपछि मन्त्रालयमा दुई सचिव भएका हुन्। अधिकारी छोटो समय बसेर सरुवा भए। त्यसपछि सरकारले स्वास्थ्यमा प्रशासन तर्फकै अर्का सचिव चन्द्र घिमिरेलाई नियुक्त गरेको थियो।
घिमिरे र चौधरीलाई सोमबारको बैठकबाट सरुवा गरिएको छ। घिमिरेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ।