पोखरा – गण्डकी प्रदेश सरकारले स्याङजा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारले प्रदेश माताहतका कार्यलयमा उत्कृष्ट २६ कर्मचारीलाई सम्मानसहित पुरस्कृत गर्ने निर्णय गरेको हो। २६ जनामध्ये स्याङ्जा अस्पतालका डा पोखरेल पनि परेका हुन्।
डा पोखरेल उक्त अस्पतालमा दुई वर्षदेखि कार्यरत छन्। जिल्ला अस्पताललाई गुणस्तरीय उपचारका लागि प्रदेशको नमुना अस्पताल बनाउने लक्ष्यसहित काम अगाडि बढाएका कारण उनलाई पुरस्कृत गर्ने निर्णय भएको बताइएको छ। सरकारले डा अमृतलाई ५० हजार राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव लक्ष्मीराम पौडेलको संयोजकत्वको समितिले सम्मानित कर्मचारीको नाम सिफारिस गरेको थियो । प्रमुख सचिव शर्माको सिफारिसको नामलाई मन्त्रिपरिषदको बैठकले छनोट गरेको हो।
डा पोखरेलले बिरामीले उपचारका लागि पोखरा जानु नपर्ने गरी सेवा सुविधाको विकास गरिरहेको जानकारी दिए। उनले पुरस्कारको विषयले आफूलाई काम गर्न थप हौसला प्रदान गरेको बताए।