काठमाडौं- स्वास्थ्य सेवा अन्तर्गतका १३ हजार भन्दा बढी कर्मचारीहरुले समायोजनका क्रममा त्रुटि भएको भन्दै गुनासो दर्ता गराएका छन्।
कर्मचारी समायोजनका क्रममा भएको त्रुटि सच्याउन सरकारले आजसम्म गुनासो दर्ता गर्न समय दिएको थियो। आज साँझसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ७ हजार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४ हजार र गुनासो सुन्ने कर्मचारीको इमेलमा २ हजार गरी १३ हजार हाराहारीमा गुनासो दर्ता भएको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले जानकारी दिए।
‘सबैतिर गरेर १३ हजार जति उजुरी दर्ता भएका छन्’ उनले भने, ‘यी उजुरी मध्ये केहीले स्वास्थ्य र सामान्य प्रशासन तथा इमेलमा समेत उजुरी गरेका कारण दोहोरिएका छन्।’ उनले दोहोरिएका उजुरीलाई हटाउने हो भने स्वास्थ्यमा करिब ८ हजार जनाको उजुरी परेको अनुमान गर्न सकिन्छ।
उजुरीलाई केलाएर सरकारले उचित रुपमा समायोजनको काम अगाडि बढाउने उनले जानकारी दिए।
समायोजनको काममा ढिलाइ भएपछि स्वास्थ्य मन्त्रालयले बिहिबार विज्ञप्ति जारी गर्दै कर्मचारीलाई समायोजनको पत्र प्राप्त नभएसम्म हाल कार्यरत कार्यालयबाट नै सेवा प्रवाह गर्न भनेको छ।
सरकारले स्वास्थ्यको गुनासो सुन्नका लागि स्वास्थ्य मन्त्रालयका तीन जना र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तीन जना गरी ६ जनालाई सम्पर्क गर्न समेत सूचना निकालेको थियो।
गुनासो सुन्नका लागि स्वास्थ्यका उपसचिव लिलाराज पौडेल, जनस्वास्थ्य प्रशासक शम्भु काफ्ले र शाखा अधिकृत प्रेमलाल दुवालाई तोकिएको छ भने सामान्य प्रशासनमा सहसचिव रुपनारायण भट्टराई, उपसचिव इश्वरकुमार गिरी र उपसचिव बन्धुप्रसाद बास्तोला तोकिएका थिए।
