काठमाडौं– नर्भिक इन्टरनेसनल हस्पिटलले आज विशेष समारोहको आयोजना गर्दै स्थापनाको २६ औँ वार्षिकोत्सव मनाएको छ।
समारोहमा बोल्दै नर्भिकका अध्यक्ष वसन्त चौधरीले आगामी तीन वर्षभित्र २ अर्वको लागतमा अत्याधुनिक २ सय ५० शय्या थप्ने उद्घोष गरे। उनले नर्भिक हस्पिटले सधैँ बिरामीको सेवामा समर्पित रहेको बताए।
वार्षिकोत्सवको अवसरमा रक्तसञ्चार केन्द्रको उत्घाटन गरिएको छ। यस केन्द्रले सर्वसाधारणलाई आवश्यता पर्ने रगतको भन्डारण सहित क्रस म्याचलगायतको सेवा दिने छ।
करिब ५० जना कर्मचारीबाट २५ शय्याको नर्सिङ होमबाट सुरु गरेको यस हस्पिटलमा हाल ९ सय जना स्टाफहरु कार्यरत रहेका छन्। अहिले नर्भिकको बेड संख्या १ सय ५० रहेको अध्यक्ष चौधरीले जानकारी दिए।
स्नायुरोग विभागीय प्रमुख डा पंकज जलानले नयाँ उचाइमा पुग्दै जाँदा चुनौतीहरु पनि थपिने बताउँदै चुनौतीहरु सामाना गर्न नर्भिक सक्षम रहेको बताए।
समारोहमा बोल्दै ग्याष्ट्रो इन्टेरोलोजी विभागीय प्रमुख डा मधु घिमिरेले पाचन प्रणाली उपचारमा इआरसीसी, इण्डोस्कोपि, अल्ट्रासाउण्ड, इन्टेरेस्कोपी जस्ता प्रविधि भित्र्याउनेमा नर्भिकले अग्रणी भूमिका खेलेको बताए।
त्यसैगरी हस्पिटलकी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख डा अचला वैद्यले सब फर्टिलिटी, फिटल मनिटरिङ, मेनोपज लगायत विशेषज्ञ उपचार दिँदै आएको बताइन्।
उपचारमा नविनतम् प्रविधि भित्र्याउने क्रममा हाल कायरोप्राक्टिक सेवा नेपालमै पहिलोपटक सुरु भएको पनि जानकारी गराइएको छ।
सो अवसरमा हस्पिटलका उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ।