फाइल तस्बिर
काठमाडौं- हरेक मानवीय विपत्तिको सहरा अस्पताल तथा स्वास्थ्य संस्था नै हुन्। जस्तोसुकै विपत्तिमा समेत अस्पताल र स्वास्थ्य संस्थालाई भरोसाका केन्द्रका रुपमा लिइन्छ। तर, भूकम्प गएको चार वर्ष बितिसक्दा पनि यी भरोसाका केन्द्र पुनर्निर्माणमा भने सरकारको चासो कम देखिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका अनुसार भूकम्पको चार वर्षमा बल्ल ६ सय ४३ वटा स्वास्थ्य संस्था मात्र पुनर्निर्माण भएका छन्। एक वर्ष अघि ५ सय ८६ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेका थिए। यस्तै हाल १ सय ४५ वटा स्वास्थ्य संस्थाको निर्माण भइरहेको प्राधिकरणले जनाएको छ।
पुनर्निर्माण भएका भवन अधिकांस प्रिफ्याब भवन हुन्। भूकम्पका कारण भूकम्प प्रभावित ३१ जिल्लाका १ हजार १ सय ९७ स्वास्थ्य संस्थामा क्षति पुगेको थियो। जसमध्ये ५ सय ४४ वटा वटा संस्था पूर्ण रुपमा र ६ सय ५३ वटामा आंशिक क्षति पुगेको थियो।
भूकम्पले सबैभन्दा बढी अतिप्रभावित १४ जिल्ला गोरखा, धादिङ, नुवाकोट, रसुवा, भक्तपुर, दोलखा, काठमाडौं, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, ओखलढुंगा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीका स्वास्थ्य संस्थामा क्षति गरेको थियो। ती जिल्लाका ६ सय २८ स्वास्थ्य संस्थामा क्षति भएको थियो।
पुनर्निर्माण हुन बाँकी संस्थामध्ये अधिकांश अझै टेन्ट र अस्थायी टहरामा छन्। चार वर्षसम्म पनि टेन्टमा रहन बाध्य संस्थाहरुले मन्त्रालय र प्राधिकरणमा टेन्टमा भोग्नु परेका समस्याहरुको गुनासो टिपाएका थिए। ती संस्थाले टेन्ट अस्पतालमा मुसाको आतंक रहेको, च्यातिएका टेन्टबाट धुलो छिर्दा संक्रमणको खतरा रहेको, गर्मीमा टेन्ट तात्ने र चिसोमा शीत चुहिने लगायतका समस्या देखाएका छन्।
शल्यक्रिया गरिएका बिरामी, घाउ भएका, सुत्केरी र नवजात शिशुलाई संक्रमणबाट जोगाउन अस्पतालको वातावरण सफासुग्घर र निर्मलीकरण गरिएको भुइँ तथा भित्ता हुनुपर्छ। तर, त्रिपालमा चलेका स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुरक्षित वातावरण नभएको पनि उनीहरुको गुनासो छ।
स्वास्थ्य मन्त्रालयका अनुसार करिब ६० वटा विभिन्न संघसंस्था तथा दातृ निकायसँग अस्पताल र स्वास्थ्य चौकी पुनर्निर्माणका लागि सम्झौता गरिएको छ।
आंशिक क्षति पुगेको ३ सय ३१ वटामा प्रवलिकरणको काम सकिएको छ भने ९४ वटामा प्रवलिकरणको काम भइरहेको छ।
हेरौं कति स्वास्थ्य संस्था बने, कति बन्न बाँकी?
