काठमाडौं -चिनमा पढेका चिकित्सककाे संगठन चिनियाँ चिकित्सा चिकित्सक समाज नेपालको अध्यक्षमा डा. सुरज कर्माचार्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
वैशाख १९ गते सम्पन्न समाजको १०औँ सम्मेलनले डा. कर्माचार्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा डा. जया सत्याल, सचिवमा डा. नरेन्द्र लामिछाने र कोषाध्यक्षमा डा. प्रसिद्ध खगडी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा डा. कमल शर्मा, डा. शरद पन्थी, डा. मञ्जु ज्ञवाली, डा. आनन्द केसी र डा. राधेश्याम शिल्पकार रहेका छन्।
समाजका निवर्तमान अध्यक्ष डा. झुलाराम अधिकारीका अनुसार नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
अध्यक्षमा निर्वाचित भएपछि डा. कर्माचार्यले हालसम्म निजी रूपमा एक्युपङ्चर सेवा विस्तारमा योगदान दिएको उल्लेख गर्दै अब संस्थामार्फत चिनियाँ चिकित्सा प्रणालीको समग्र विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
वि.सं. २०७३ मा स्थापना भएको यो संस्था मुनाफारहित रूपमा जनहितमा क्रियाशील रहँदै चिनियाँ चिकित्सा तथा अन्य परम्परागत उपचार पद्धतिहरूको विकास र प्रवर्द्धनमा संलग्न छ। संस्थाले चिकित्सकहरूको सीप विकास, अनुसन्धान, तालिम तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सहकार्यमार्फत सेवा गुणस्तर सुधारमा योगदान पुर्याउँदै आएको छ।
साथै, जनचेतना अभिवृद्धि गर्दै एक्युपङ्चर तथा चिनियाँ चिकित्सालाई व्यवस्थित, गुणस्तरीय र वैज्ञानिक रूपमा अघि बढाउने लक्ष्य संस्था राखेको छ।