जीवनको पहिलो कमाइ सबैलाई विशेष हुन्छ। जुन हामी कहिल्यै बिर्सन सक्दैनौं। स्वास्थ्यखबरको नियमित शनिबारीय कोलम 'जीवनशैली’मा वीर अस्पतालमा कार्यरत छाला तथा यौनरोग विशेषज्ञ डा अनुपमा कार्कीले पहिलो तलबबारे यसरी अनुभव साटिन् :
मैले सन् १९९५ मा बंगलादेश गएर एमबिबिएस पढेकी हुँ। सन् २००१ मा इन्टर्नसिप गरेँ। त्यसपछि नेपालमा फर्केर लोकसेवा दिएँ। नाम निस्कियो। त्यो क्षण म निकै खुसी भएँ। मेडिकल अफिसरका रुपमा सरकारी सेवामा प्रवेश गर्न पाउँदा खुसी नहुने कुरै थिएन। मेरो जागिर वीर अस्पतालमा नै सुरु भयो। सन् २००३ मा हो मैले काम सुरु गरेको। त्यतिबेला मेरो तलब ७ हजार ५ सयजति थियो। पहिलो पटक तलब थाप्दा त खुसीको सीमा नै रहेन। केके न पाएको जस्तो भएको थियो। आफ्नै मेहनतको कमाइ थियो त्यो। तलबबाट आएको पैसालाई मायाले सुमसुम्याएँ। पटकपटक हेरेँ। पैसा हेर्दै मुस्कुराइरहेकी थिएँ। पहिला सधैं आमाबुबासँग पैसा मागेर खर्च गर्नुपर्थ्यो। तर, तलब आएपछि 'अहो मेरो मेहनतको कमाइ, अब म पनि कमाउन सक्ने भएँ' भन्ने खुसी थियो।
मेरो घरमा मम्मीबुवाले काम सफल भयो भने लड्डु चढाउनुहुन्छ। मैले पनि उहाँहरुकै सिको गर्दै गणेश भगवान्लाई २ सय रुपैयाँको लड्डु चढाएँ। किनकि म पनि काममा सफल भएको थिएँ। त्यसपछि मैले केही पैसा आफ्नो लागि खर्च गरेँ। पहिलो तलब हो, साथीहरुसँग खुसी नबाँड्ने कुरै भएन। उनीहरुलाई ‘ट्रिट’ दिएँ। धेरै महँगो त खुवाइनँ। ठिक्कको ट्रिट थियो। सबैले खुसी मानेर बधाई दिए। पहिलो तलबको ३ हजार रुपैयाँ चाहिँ मम्मीलाई राख्न दिएँ।
साँच्चै, पहिलो तलबले निकै खुसी बनाएको थियो मलाई। आफ्नो मेहनतको कमाइ आउँदा खुसी लाग्नु स्वाभाविक हो। अहिले पनि तलब आएको दिन मलाई खुसी लाग्छ।