काठमाडौं– बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रियाका क्रममा एक बालिकालाई फरक समूहको रगत चढाइएको छ। ओ पोजेटिभ रगत भएकी बालिकालाई ए पोजेटिभको रगत चढाइएको हो।
फरक समूहको रगत चढाइएपछि बालिकाको अवस्था झन् गम्भीर हुँदै गएको थियो। बालिकाको आज बिहान मृत्यु भएको छ। आफन्तले रगत चढाउने क्रममा अस्पतालले लापरबाही गरेको आरोप लगाइरहेका छन्। उनीहरुले लापरबाही गर्नेलाई कारबाहीको माग गरेका छन्।
बिरामीलाई फरक रगत चढाएर मृत्यु भएपछि अस्पताल प्रशासनले उक्त विषयमा छानबिन अगाडि बढाएको छ। ‘छानबिन अगाडि बढाएका छौं,’ अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माले भने, ‘छानबिनका प्रतिवेदन आएपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढ्छ।’
सर्लाही सिसौटियाकी आकृति कुमारीको मुटुको भल्भमा समस्या थियो। ५ वर्षीया आकृतिको मुटुको भल्भ फेर्नका लागि १३ गते गंगालालमा भर्ना गरिएको थियो। उनको १७ गते शल्यक्रिया गरिएको हो। तर, सो क्रममा उनलाई फरक समूहको रगत चढाइएको थियो।
फरक समूहको रगत चढाइएपछि उनको क्रियटिनन् बढेर ४ दशमलव १ एमजिडिएल पुगेको थियो। शल्यक्रियाअघि ती बालिकाको क्रियटिनिन् शून्य दशमलव ३ एमजिडिएल थियो। शल्यक्रियाअघि ३ लाख १३ हजार प्लेटलेट रहेकी ती बालिकाको शल्यक्रियापछि ७ हजारमा झरेको थियो।
फरक समूहको रगत चढाइएपछि झन् उनको स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई पिआइसियूको १४ नम्बर बेडमा राखेर उपचार भइरहेको थियो। तर, उपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
यसैबीच, फरक समूहको रगतका कारण बालिकाको मृत्यु भएपछि नेपाल स्वयंसेवी रक्तदाता समाजले गम्भीर ध्यानाकर्षण गरेको छ। रक्तादाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले विज्ञप्ति जारी गर्दै दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।