काठमाडौं– सिन्धुपाल्चोकको इन्द्रवती गाँउपलिका वडा नं १० घर भएकी ५० वर्षीया रामप्यारी थापाको उपचारको क्रममा ओम अस्पतालमा मृत्यु भएको छ। उनको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरिएको थियो। त्यसपछि उनको अवस्थामा थप समस्या देखिको थियो।
शल्यक्रियापछि स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई आइसियुमा राखिएको थियो। तर, उपचारकै क्रममा बिहीबार बिहान उनको निधन भएको हो। थापाको मृत्युपछि आफन्तले अस्पतालमा नाराबाजी गरेका छन्।
स्वास्थ्यखबरले मृतकका आफन्त र अस्पतालका मेडिकल डाइरेक्टरसँग यो विषयमा कुराकानी गरेको छ।
आफन्तको भनाइ
उपचारका क्रममा लापरबाही भएको छ। शल्यक्रिया गर्ने क्रममा सानो आन्द्रामा प्वाल पारिएको रहेछ। पित्तथैलीको शल्यक्रिया गर्दा आन्द्रामा प्वाल पारेर त्यसै छाडिएको रहेछ। पहिला त हामीलाई केही भनिएन। तर, पछि आन्द्रा च्यातिएको छ भनियो। बिरामीको अवस्था गम्भीर भएपछि हामीलाई रगतको व्यवस्थापन गर्न पनि भनियो। हामीले बिहानै रगतको व्यवस्था पनि गर्यौं। तर, समयमा नै उपचार भएन। बिरामी झन् गम्भीर हुँदै गयो। आन्द्रामा परेको प्वालले शरीरभरि संक्रमण फैलिएर मिर्गौला, फोक्सो लगायतका अंगले काम गर्न नसकेको हो। यसमा लापरबाही छ। यसको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ।
मेडिकल डाइरेक्टर डा केपी देवकोटाको भनाइ
पित्तथैलीमा भएको पत्थरीकोे शल्यक्रिया पारिवारिक सल्लाहमा भएको थियो। यो पत्थरीको शल्यक्रिया साधारण खालको भने थिएन। योभन्दा पहिले उहाँको पाठेघरको तीन पटक शल्यक्रिया भइसकेको थियो। त्यही भएर उपचार गर्ने डाक्टरले हुनसक्ने सम्भावित खतराका विषयमा आफन्तलाई जानकारी गराइसकेका थिए। आन्द्रा टाँसिएको र जेलिएर बसेको हुँदा समस्या हुनसक्छ भन्ने विषयमा बिरामी पक्षलाई राम्रोसँग बुझाइएको थियो।
उहाँको ल्याप्रोस्कोपिक सर्जरी गरिएको हो। उपकरण पेटभित्र छिराउने क्रममा जेलिएका आन्द्राले पित्तथैलीलाई छोपेको अवस्थामा भएको हुँदा आन्द्राहरु छुट्याउन मुस्किल थियो। शल्यक्रिया राम्रो भएको थियो। शल्यक्रियापछि आवश्यक जाँच गर्दा पनि समस्या देखिएको थिएन।
पित्तथैली निकालिसकेपछि आन्द्रा विभिन्न ठाउँबाट छुट्याउने क्रममा उपकरणले घाउ बनाएको छ कि भनेर चेकजाँचको क्रममा त्यस्तो कुनै समस्या देखिएको थिएन। न कुनै आन्द्रामा प्वाल थियो न त रक्तस्राव नै भएको थियो। शनिबार दिउँसोसम्म पनि बिरामीले झोल पदार्थ खाएको र ठिकै अवस्थामा देखिएको थियो। तर राति बिरामीले पेट दुख्यो भनेको र पुनः जाँच गर्दा छातीमा निमोनिया देखिएको थियो।
बिरामीको अवस्था बिग्रिँदै गएपछि आइतबार सर्जनले के कारणले बिरामीको अवस्था बिग्रँदो छ भनेर थप जाँच गर्नुभयो। अल्ट्रासाउन्ड गर्दा पनि कुनै समस्या देखिएको थिएन। सिटी स्क्यान गर्दा पनि बिरामीमा कम्प्लिकेसन देखिएन। तर, पनि बिरामीमा केही समस्या आइरहेपछि शल्यक्रिया गरेको ठाउँको एउटा टाँका काटेर हेरियो। टाका खोलेर हेर्दा फोहोर पर्दाथ आएको थियो।
यो आइतबार दिउँसोको कुरा हो। त्यस्तो हुनासाथ बिरामीका आफन्तलाई डाक्टरले खबर गरेका थिए, आन्द्रामा केही समस्या देखिएको छ भनेर। र, तुरुन्त शल्यक्रिया खोलेर हेर्दा आन्द्रामा सानो प्वाल देखिएको थियो। त्यसपछि उहाँको अवस्था सुधारका लागि थप उपचार अगाडि बढाइएको हो।
बिरामीलाई बचाउन सकिन्छ कि भन्ने उद्देश्यले डाक्टरी सिद्धान्तअनुसार सक्दो प्रयास भएको छ। लापरबाही भएको छैन। डाक्टरले बिरामीको जीवन बचाउन हरसम्भव प्रयास गरेको छ। तर बिरामीको रगतमा सेप्सिस (संक्रमण) भइसकेको थियो। उपलब्ध भएसम्मका एन्टिबायोटिक्स दिँदा पनि काम गरेन। र, अन्ततः उहाँको निधन भयो।
भिडियो : निमेष जंग राई