काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सिटी स्क्यान कक्षमा विकिरण चुहावटका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
मन्त्रालयले डा हेमन्त ओझाको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा स्वास्थ्य सेवा विभागकी बायोमेडिकल इन्जिनियर पद्मा मिश्र र पाटन अस्पतालका रेडियोलोजिष्ट सदस्य रहेका छन्। मन्त्रालयका उपसचिव बाबुराम खनाल भने समितिका सदस्य सचिव हुन्।
समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताको समय दिइएको मन्त्रालयका उपसचिव भवनाथ खनाल स्वास्थ्यखबरलाई जानकारी दिए।
अस्पतालको विकिरण चुहावटका विषयमा स्वास्थ्यखबरले गत बिहीबार समाचार प्रकाशित गरेको थियो। सोही समाचार प्रकाशित भएपछि मन्त्रालयले उक्त विषयको यथार्थ बाहिर ल्याउन समिति गठन गरेको हो।
अस्पतालको सिटी स्क्यान कक्षबाट मानव स्वास्थ्यमा हानीकारक मानिने विकरण चुहावट भएपछि रेडियोलोजी विभागमा काम गर्ने कर्मचारी र सेवाग्राही त्रसित बनेका छन्। अस्पतालमा करिब ६ महिनाअघि सिटी स्क्यान मेसिन जडान गरिएको थियो। सो कक्षबाट विकिरण चुहावटले कर्मचारीको स्वास्थ्यमा समेत प्रतिकूल परेपछि त्रसित भएका हुन्।

आइसिआरसीको मापदण्डअनुसार सिटी स्क्यान कक्षबाहिर बस्ने मानिसले एक वर्षमा १ एमएसरभी विकिरण प्राप्त गर्नुलाई सामान्य मानिन्छ। तर वीर अस्पतालमा प्रतिवर्ष ३३ एमएसरभी विकिरण खाइरहेको नेपाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को रिपोर्टमा देखिएको छ।
सिटी स्क्याक्न कक्ष भित्रको रिर्पोटिङ रुममा बस्ने व्यक्तिले (जहाँ चिकित्सक र विद्यार्थी चिकित्सकहरु बस्ने रुम) ०.०२२ एमएस/भि प्रतिवर्ष विकिरण खाइरहेका छन्। यो अत्यधिक नभएपनि आइसिआरसीको मापदण्डभन्दा बढी हो।
टेक्निसियनले सिटी स्क्यान गर्दा लिड ग्लासबाट हेर्ने गर्छ। त्यहाँबाट ० विकिरण आउनुपर्ने मापदण्ड छ। विकिरण छेक्न सिसा राखिएको हुन्छ। तर त्यहाँबाट पनि ०.२१३ एमएस/भी विकिरण चुहावट भएको पाइएको छ।
वीर अस्पतालमा उपकरण खरिद प्रक्रियामा हुने मनोमानीका कारण सिटी स्क्यान मेसिनका मापदण्ड पूरा नभएको आरोप कर्मचारीले लगाएका छन्।
यो पनि :