काठमाडौं- वीर अस्पतालको सिटी स्क्यान कक्षबाट मानव स्वास्थ्यमा हानीकारक मानिने विकरण चुहावट भएपछि रेडियोलोजी विभागमा काम गर्ने कर्मचारी र सेवाग्राही त्रसित बनेका छन्। अस्पतालमा करिब ६ महिनाअघि सिटी स्क्यान मेसिन जडान गरिएको थियो। सो कक्षबाट विकिरण चुहावटले कर्मचारीको स्वास्थ्यमा समेत प्रतिकूल परेपछि त्रसित भएका हुन्।
आइसिआरसीको मापदण्डअनुसार सिटी स्क्यान कक्षबाहिर बस्ने मानिसले एक वर्षमा १ एमएस/भी विकिरण प्राप्त गर्नुलाई सामान्य मानिन्छ। तर वीर अस्पतालमा प्रतिवर्ष ३३ एमएस/भी विकिरण खाइरहेको नेपाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान( नास्ट)को रिपोर्टमा देखिएको छ।
सिटी स्क्याक्न कक्ष भित्रको रिर्पोटिङ रुममा बस्ने व्यक्तिले (जहाँ चिकित्सक र विद्यार्थी चिकित्सकहरु बस्ने रुम) ०.०२२ एमएस/भि प्रतिवर्ष विकिरण खाइरहेका छन्। यो अत्यधिक नभएपनि आइसिआरसीको मापदण्डभन्दा बढी हो।
टेक्निसियनले सिटी स्क्यान गर्दा लिड ग्लासबाट हेर्ने गर्छ। त्यहाँबाट ० विकिरण आउनुपर्ने मापदण्ड छ। विकिरण छेक्न सिसा राखिएको हुन्छ। तर त्यहाँबाट पनि ०.२१३ एमएस/भी विकिरण चुहावट भएको पाइएको छ।
नास्टले बुधबार उपलब्ध गराएको रिपोर्ट
कर्मचारीले विकिरण चुहावट भएको र काम गर्न नसक्ने बताएपछि अस्पताल प्रशासनले नास्टलाई विकिरण चुहावट परीक्षण गर्न बोलाएको थियो। नास्टको प्राविधिक टोली आएर विकिरणको मात्रा जाँच गरी दिएको ‘रेडियसन मोनिटोरिङ रिपोर्ट’मा समेत सामान्यभन्दा बढी विकिरण चुहावट भएको उल्लेख छ।
वीर अस्पतालमा उपकरण खरिद प्रक्रियामा हुने मनोमानीका कारण सिटी स्क्यान मेसिनका मापदण्ड पूरा नभएको आरोप कर्मचारीले लगाएका छन्। विकिरण चुहावटको शंका लागेपछि सोही विभागमा कार्यरत एक कर्मचारीले रगत जाँच गराएका थिए। उनको रगतमा समस्या देखिएको छ। उनले रगत विशेषज्ञसँग पनि परामर्श गरेको बताएका छन्। सो विभागमा कार्यरत अन्य चिकित्सक र कर्मचारीले पनि रगत जाँच गर्ने बताएका छन्।
उपकरण जडान गर्दा नै गुणस्तरीय लिड नराखेका कारण समस्या आएको र तत्काल समस्या समाधान नगरिएको भन्दै कर्मचारीले प्रशासन समक्ष गुनासो गरेका छन्। ‘जडान गर्ने समयमा पनि प्रक्रिया पूरा गरिएन। हप्तादिन अघि सिटी स्क्यान कक्षको झ्याल बिग्रिएको थियो। त्यसलाई पनि झारा टार्ने शैलीमा बनाइएको छ। तर खर्च लाखौंको भएको छ,’ एक कर्मचारीले भने।
विगत १० दिनदेखि विकिरण चुहावट भएको भन्दै कर्मचारीले प्रशासनमा निवेदन दिई समस्या समाधानका लागि अनुरोध गरिसकेका बताए।
वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीले पनि विकिरण चुहावट भएको स्वीकार गर्दै सामाधानका लागि प्रक्रिया थालिएको दाबी गरे। ‘हरेक अस्पतालमा उपकरणबाट विकिरण बाहिर आउँछ। त्यसलाई रोक्न पहिलेदेखि रोकथामको उपाय अबलम्बन गरिएको हुन्छ। हाम्रोमा सामान्यभन्दा बढी देखिएको छ,' उनले भने, 'सुधार गर्न प्रक्रिया थालिएको छ।’ उनले अस्पतालको सिटी स्क्यान कक्षमा विकिरणको अवस्था परिवर्तन भइरहने र एकै दिनको रिपोर्टमात्र आधिकारिक मान्न नसकिने दाबी समेत गरेका छन्।
उनले उपकरण जडान गर्ने कम्पनीलाई बोलाएर मापदण्ड अनुसारका उपकरण जडान गर्न राख्न भनिसकेको बताए।
वीर अस्पतालका रेडिलोलोजी विभागका प्रमुख डा सरोज शर्माले विकिरण चुहावट भएको तर आत्तिइहाल्नु पर्ने अवस्था नरहेको दाबी गरे। ‘अत्यधिक विकिरणले स्वास्थ्यमा असर गर्छ। त्यसैले पनि डराउनु स्वभाविक हो,' उनले भने, 'समस्या समाधानका लागि भनिसकेकोले एक/दुई दिनमै समाधान हुन्छ।’
सिटी स्क्यान कक्षमा प्रवेश गर्दा विषेश सुरक्षायुक्त ज्याकेट लगाउनु पर्नेमा अस्पतालमा त्यस्तो चलन नै नभएको एक कर्मचारीले बताए। यसका साथै मेसिनले प्रवाह गर्ने विकिरण बाहिर नफैलियोस् भन्नका लागि विशेष सुरक्षा ढोका समेतको व्यवस्था गर्नुपर्नेमा सो ढोका समेत बिग्रेको अवस्था छ। वीर अस्पतालको खरिद इकाइको बदमासीका कारण यस्तो समस्या आएको ती कर्मचारीले दाबी गरे।
विकिरणबाट मानव स्वास्थ्यमा पर्ने असर
अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी विकिरण चुहावट गरेमा अपराध गरेको मानिन्छ।
विकिरणलाई सुरुको अवस्थामा इपिलेसन भनिन्छ। विकिरण चुहावटले बाहिरी हातखुट्टाका रौंहरु झर्ने, कपाल झर्ने, शरीर दुख्ने, चिलाउने, छालामा रातो ससानो बिमिराजस्तो देखिने हुन्छ। छाला जल्ने, मोतियाबिन्दु, रौं खुइलिने, बाँझोपन हुने, आँखाको नानी गुम्ने, रगत क्यान्सर हुने र मृत्युसमेत हुन सक्दछ। यसले वंशाणुगत असर पार्ने अध्ययनहरुले देखाएका छन्।
एक रेडियोधर्मी विकिरण उत्सर्जन गर्ने मेसिन प्रयोग गर्दा विशेष प्रकारको कोठा अनिवार्य हुन्छ। यस प्रकारको संरचनाको लागि अस्पताल प्रशासन जिम्मेवार हुनुपर्छ।
- सबै तस्बिर र भिडियो : सौरभ रानाभाट