काठमाडौं– नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले नयाँ कार्यसमिति चयन गरेको छ। सन् २०२१ देखि नेपालमा सक्रिय यो गैर–नाफामुखी संस्थाको २०२५ अक्टोबर १२ मा सम्पन्न वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। उक्त सभा अमेरिका, युरोप, अष्ट्रेलिया र नेपालका सदस्यहरूको सहभागितामा भर्चुअल रूपमा सम्पन्न भएको थियो।
साधारण सभाले डा. सञ्जय यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा डा. छोरी लक्ष्मी महर्जन, महासचिवमा डा. खगेन्द्र काफ्ले, कोषाध्यक्षमा अनुराधा आचार्य चयन भएका छन्।
यसैगरी सदस्यहरूमा डा. प्रभात सापकोटा, शाम्भवी अधिकारी, ममता गुरुङ र डा. अपर्णा घिमिरे रहेका छन्।
वैकल्पिक सदस्यका रूपमा डा. जगन सुवेदी, डा. जगदम्बा पण्डित, डा. राजन शर्मा र डा. सरोज अधिकारी चयन भएका छन्। संस्थाका कार्यकारी निर्देशकका रूपमा डा. श्रीधर पौडेल निरन्तर रहेका छन्।
नयाँ नेतृत्वको प्रमुख प्राथमिकता भरतपुर अस्पतालसँग सहकार्यमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गर्नु, मानव सेवा आश्रमका २७ वटै केन्द्रमा मानसिक स्वास्थ्य सेवा विस्तार गर्नु र मानसिक स्वास्थ्य सचेतना कार्यक्रमहरूलाई सशक्त बनाउनु रहेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिए।
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले मानसिक स्वास्थ्यका छ आधारस्तम्भ — एकीकृत मानसिक स्वास्थ्य सेवा, तालिम, अनुसन्धान, सचेतना, वकालत र अधिकार–आधारित सेवा — लाई आफ्नो कार्यदिशाको रूपमा लिएको छ।
संस्थाले गत वर्ष सञ्चालन गरेका प्रमुख कार्यक्रमहरूमा स्माइल मदर्स र स्माइल आमा–बा नामका सामुदायिक मातृत्व तथा वृद्ध मानसिक स्वास्थ्य कार्यक्रम (हेल्थ फाउन्डेशन नेपालसँग सहकार्यमा), विपद् मानसिक स्वास्थ्य कार्यक्रम, रेडियो तथा डिजिटल मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम, मानव सेवा आश्रम मानसिक स्वास्थ्य कार्यक्रम र चितवनमा एकीकृत मानसिक स्वास्थ्य केन्द्र स्थापना रहेका छन्। साथै, संस्थाले चितवनमा दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन पनि आयोजना गरेको थियो।
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थलेका सहसंस्थापक तथा कार्यकारी निर्देशक डा. श्रीधर पौडेलले नयाँ नेतृत्वले नेपालमा मानसिक स्वास्थ्यको पहुँच र गुणस्तर वृद्धि गर्न महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरेका छन्।