काठमाडौं- मस्तिष्कघात (स्ट्रोक) भएपछि जापानको अस्पतालमा विगत ६ महिनादेखि उपचाररत नेपाली युवती विष्णु कुँवरलाई स्वदेश ल्याएर निःशुल्क उपचार गराउने जिम्मेवारी काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक तथा नेपाली कांग्रेसका नेता डा. सुनील कुमार शर्माले लिएका छन्।
डा. शर्माले विष्णुलाई जापानबाट नेपाल ल्याउनेदेखि उपचार पूरा गरी अस्पतालबाट घर फर्किंदासम्म लाग्ने सम्पूर्ण खर्च बेहोर्ने प्रतिबद्धता जनाएका हुन्। आवश्यक परे नेपाल वायुसेवा निगमको हवाई टिकटसमेत आफूले किनिदिने उनले बताएका छन्।
रोजगारीका सिलसिलामा जापान पुगेकी विष्णुलाई स्ट्रोक भएपछि अस्पताल भर्ना गरिएको थियो। आर्थिक अभावका कारण उनी उपचारका लागि नेपाल फर्कनसमेत नसकेको अवस्थामा थिइन्। जापानमा उपचार प्रक्रिया अघि बढाउन कठिनाइ र नेपाल फर्किएर उपचार गराउन आर्थिक समस्या भएपछि उनी ६ महिनादेखि अस्पतालको शय्यामा रहँदै आएकी छन्।
जापान भ्रमणमा रहेका डा. शर्मालाई त्यहाँ कार्यरत नेपाली पत्रकार लक्ष्मण पाठकले विष्णुको अवस्थाबारे जानकारी गराएका थिए। त्यसपछि शर्माले उनलाई तत्काल नेपाल फर्काउने र केएमसीमा निःशुल्क उपचारको व्यवस्था मिलाउने घोषणा गरेका हुन्।
‘चिकित्सा विज्ञानले सम्भव भएसम्मका सम्पूर्ण उपचार काठमाडौं मेडिकल कलेजमा निःशुल्क गरिदिने व्यवस्था म मिलाउँछु। उहाँलाई जापानबाट यहाँसम्म पठाइदिने व्यवस्था मिलाउनुहोस्,’ डा. शर्माले भने, ‘नेपाल आइपुगेपछि उपचारको सम्पूर्ण जिम्मेवारी हाम्रो भयो।’
उनले विष्णुलाई नेपाल पठाउने प्रक्रिया तत्काल अघि बढाउन आग्रह गर्दै त्यसमा आर्थिक समस्या भए हवाई टिकटसमेत आफैंले उपलब्ध गराउने बताएका छन्। नेपाल आइपुगेपछि विमानस्थलबाट अस्पतालसम्म ल्याउने, उपचार गर्ने र डिस्चार्ज भएर घर फर्किंदासम्मको खर्च परिवारले बेहोर्नु नपर्ने उनको प्रतिबद्धता छ।
विष्णुको उपचारका लागि केएमसीमा आवश्यक जनशक्ति र पूर्वाधार उपलब्ध रहेको डा. शर्माको भनाइ छ। उनले अस्पतालमा न्युरो इन्टरभेन्सन सेवाका विशेषज्ञ चिकित्सकसहितको टोली रहेको उल्लेख गर्दै उपचारमा सम्भव भएसम्मका सबै विधि अपनाइने बताए।
‘न्युरो इन्टरभेन्सनका लागि काठमाडौं मेडिकल कलेज नेपालका उत्कृष्ट तीन केन्द्रमध्ये पर्छ। यहाँ एक दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकको टोली छ,’ उनले भने, ‘सम्भव भएसम्मको उपचार हामी विष्णुका लागि निःशुल्क गरिदिनेछौं।’
विष्णु नेपाल आइपुग्ने समयमा आफू काठमाडौंमा भए विमानस्थलमै पुगेर स्वागत गर्ने र नभए चिकित्सकको टोली पठाएर अस्पताल ल्याउने पनि उनले बताएका छन्। अस्पताल पुगेपछि तत्काल उपचार प्रक्रिया सुरु गरिने उनको भनाइ छ।
अस्पताल सञ्चालनको उद्देश्य आर्थिक कारोबारमा मात्र सीमित नरहेको उल्लेख गर्दै डा. शर्माले मानवीय सेवाभावलाई प्राथमिकतामा राखेको बताए। ‘हामी अस्पताल चलाउँछौं, तर हाम्रो मिसन र भिजन फरक छ। सबै मानिस पैसाकै पछाडि मात्रै लागेका हुँदैनन्। हामी बुद्धत्वको बाटोमा लागेका मानिस पर्यौं,’ उनले भने।
डा. शर्माको प्रतिबद्धतापछि आर्थिक अभावका कारण जापानबाट नेपाल फर्कन नसकेकी विष्णुको स्वदेश फिर्ती र उपचारको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। उनले विष्णुलाई एक मिनेट पनि ढिला नगरी नेपाल पठाउन आग्रह गर्दै उपचारको सम्पूर्ण जिम्मेवारी केएमसीले लिने बताएका छन्।