काठमाडौं- शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा सुधारका लागि प्रा.डा. गोविन्द केसीले उठाएका अधिकांश माग कार्यान्वयन भइसकेको दाबी गरेको छ । केही माग कार्यान्वयनको प्रक्रियामा रहेको उल्लेख गर्दै मन्त्रालयले जारी सत्याग्रह अन्त्य गरी संवादमा आउन डा. केसीलाई आग्रह गरेको छ ।
डा. केसी चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलाममा २५औँ सत्याग्रहमा छन् । अनशनका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनी इलाम अस्पतालमा भर्ना भएका छन् ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै डा. केसीका मागप्रति सरकार संवेदनशील रहेको र चिकित्सा शिक्षा क्षेत्रमा चरणबद्ध सुधारका काम भइरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठान, कैलाली (गेटा) मा चिकित्सा शिक्षा आयोगको अनुगमन प्रतिवेदन तथा स्वीकृत मापदण्डका आधारमा एमबीबीएस र नर्सिङलगायतका कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको हो । आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा गरेर मात्रै कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयको दाबी छ ।
त्यस्तै, चिकित्सा शिक्षा आयोगको अनुगमन प्रतिवेदनका आधारमा स्वीकृत मापदण्डभित्र रहेर मुख्यतः सरकारी मेडिकल कलेजहरूमा सिट वृद्धि गरिएको मन्त्रालयले जनाएको छ ।
गेटामा शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ३०० शय्याको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको र आवश्यकताअनुसार थप विस्तार गर्दै लगिने पनि विज्ञप्तिमा उल्लेख छ ।
विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा दलीय प्रभाव र विवाद अन्त्य गर्न नियुक्तिका आधारलगायतका प्रावधान समेटेर केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
पदाधिकारीमाथि छानबिन गर्ने, छात्रवृत्ति र सिट निर्धारण मापदण्डअनुसार
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालयका उपकुलपति तथा रजिस्ट्रारलगायत पदाधिकारीको नियुक्ति, योग्यता र निर्णयबारे उठेका प्रश्नमा सरकारले आवश्यक छानबिन गर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
त्यसैगरी सार्वजनिक तथा निजी शिक्षण संस्थामा ऐन र कानुनी मापदण्डअनुसार छात्रवृत्तिको व्यवस्था कार्यान्वयनमा रहेको तथा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको मापदण्डका आधारमा सिट र कोटा निर्धारण गरिएको मन्त्रालयको भनाइ छ ।
डा. केसीसँग विगतमा भएका सहमति कार्यान्वयनको अवस्था अध्ययन गर्न गत साउन २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट कार्यदल गठन गरिएको पनि मन्त्रालयले जनाएको छ । उक्त कार्यदलले प्रतिवेदनको मस्यौदा तयार गरिरहेको छ ।
यसैगरी, २०८२ भदौ २४ गते देशका विभिन्न स्थानमा भएका आगजनी, लुटपाट तथा तोडफोडका घटनाको छानबिन र दोषीमाथि कारबाहीको प्रक्रिया सम्बन्धित निकायबाट अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।
सुर्खेत, बुटवल र बर्दिवासमा मेडिकल शिक्षण संस्था स्थापना हुँदै
सबै प्रदेश र भूगोलमा चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सुर्खेत, बुटवल र बर्दिवासमा मेडिकल शिक्षा संस्था स्थापना गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । ती संस्थाका लागि थप बजेट व्यवस्थापन गर्ने प्रक्रिया पनि अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले चिकित्सा शिक्षा सुधार, सेवा प्रभावकारिता र सुशासनप्रति सरकार प्रतिबद्ध रहेको दाबी गर्दै डा. केसीले उठाएका धेरै विषय कार्यान्वयन भइसकेको जनाएको छ ।
'उहाँले सुधारका लागि उठाउनुभएका धेरै विषय कार्यान्वयन भएका छन् । यिनैको प्रतिफल आज चिकित्सा शिक्षा नेपालको आकर्षण बन्न गएको छ,' मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
सरकार संवाद र सहकार्यका माध्यमबाट चिकित्सा शिक्षा क्षेत्रको थप सुधारका योजना निर्माण तथा कार्यान्वयन गर्न तयार रहेको उल्लेख गर्दै मन्त्रालयले डा. केसीलाई जारी सत्याग्रह अन्त्य गर्न विनम्र अनुरोध गरेको छ ।

-1793636352.jpeg)