काठमाडौं- अप्टोमेट्रिक (दृष्टि विशेषज्ञ)को लाइसेन्स परीक्षामा प्रश्नपत्रमा त्रुटि हुँदा शतप्रतिशत अनुत्तीर्ण भएको आरोप विद्यार्थीहरुले लगाएका छन्। लाइसेन्स परीक्षा लिने नेपाल हेल्थ प्रोफेसनल काउन्सिल (एनएचपीसी)को परीक्षा प्रणालीमाथि समेत उनीहरुले प्रश्न उठाएका छन्।
एक विद्यार्थी प्रिति रौनियारका अनुसार गतवर्ष परीक्षा दिएकामध्ये चारजना मात्रै उत्तिर्ण भएका थिए। यसपटक भने ८९ जना परीक्षार्थी नै अनुत्तिर्ण भएका छन्। अध्ययन सकेको चार वर्षमा समेत काउन्सिलको परीक्षा उत्तीर्ण हुन नसक्नु आफ्नो मेहनतको कमी नभइ काउन्सिलको परीक्षा प्रणाली रहेको भन्दै आन्दोलन गर्ने उनीहरुको तयारी छ। काउन्सिलको परीक्षा प्रणाली, प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा समेत त्रुटि रहेको उनको भनाइ छ।
चार वर्षदेखि काउन्सिलको परीक्षा दिइरहेकी प्रिति रौनियारले आफूले जुन हदसम्मको मेहनत गर्दा पनि उत्तीर्ण हुन नसक्नेगरी परीक्षा प्रणाली बनाइएको बताइन्। उनले उदाहरण दिइन्, 'आँखाको ब्लिकिङ दर सामान्यतया १५ देखि २० हुन्छ । तर प्रश्नको विकल्पमा १०, १५ कि २० भनेर आउँछ। कम्युटरमा १५ कि २० कुनलाई सही ठान्ने कमान्ड दिइएको छ, हामीलाई कसरी थाहा हुन्छ ?'
काउन्सिलले तयार पारेका प्रश्नहरुको उत्तरमा सही उत्तरको विकल्प नराख्ने मात्रै होइन, प्रश्न सोधिँदा समेत सेलेबसको अनुपातमा नरहेको उनको भनाइ छ। उनका अनुसार १४ वटा विषय छन्। सेलेबेसमा १० प्रतिशत अंकभार छुट्याइएको छ। परीक्षामा भने कहिले कुनै एक विषयमा ५० प्रतिशतसम्म सोध्ने गरिन्छ।
काउन्सिलले विद्यार्थीबाट शुल्क असुल्न परीक्षा चार महिनमाबाट दुई महिनामा घटाएको र अनुत्तीर्ण दर बढाएको उनीहरुको आरोप छ। परीक्षा प्रणाली सुधारका लागि अहिले उनीहरुले सामाजिक सञ्जालमार्फत् आवाज उठाइरहेका छन्।
एनएचपीसीका अध्यक्ष सुबोध कुमार शर्माले उक्त गुनासो आफूसम्म आइपुगेको जानकारी दिए। 'प्रश्नहरु र मोडेरेसन हामीसँग उपलब्ध विज्ञबाट लिने गरेका छौं। त्यसकारण प्रणालीमा त्यस्तो केही त्रुटि भएमा हामी छठपछि छलफल गरेर सत्यतथ्य बताउनेछौं,' उनले भने।