काठमाडौं– काठमाडौं उपत्यकामा युवतीमाथि श्रङ्खलाबद्ध रुपमा सिरिञ्ज आक्रमण गर्ने एक युवा पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट परिचालन भएको विशेष टोलीले ती युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्कीले भने सिरिञ्ज नभएर ढलानको किला रापेको बयान दिएका छन्।
उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। उनले दिएको बयान अनुसारले ढलानको किला रोपेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
उनले बयानमा भनेका छन्, ‘किला रोपेँको हुँ। त्यो पनि युवतीलाई मात्रै रोपेको हो मैले। किला रोप्दा मजा आउने भएकाले रोपेँ।’
पक्राउ परेका कार्की ५ वर्ष दुबई बसेर नेपाल फर्किएको पाइएको छ। उनले महाराजगञ्जमा रेष्टुरेन्ट समेत चलाउँदै आएको अनुसन्धानबाट खुलेको छ। उनको घर भने रामेछाप हो।
उनलाई महाराजगञ्जको भाटभटेनी नजिकबाट गएराति साढे १२ बजे पक्राउ गरिएको थियो। उनले अहिलेसम्म ६ जना युवतीलाई किला रोपेको बताएका छन्।
पछिल्लो समय उपत्यकामा सिरिञ्ज जस्तो वस्तुबाट युवतमाथि आक्रमण हुँदै आएको छ।