काठमाडौं– अस्पतालको वित्तीय अवस्था नाजुक भएकाले कर्मचारीलाई सेवा–सुविधा तथा तलब दिन नसकेको भन्दै गत वैशाखमा १३ जना कर्मचारी निष्कासन गरेको कुपन्डोलस्थित सर्वाङ्ग स्वास्थ्य सदन अस्पतालले यतिबेला पुनः नयाँ कर्मचारी माग गरेको भेटिएको छ।
कान्तिपुर दैनिकमा विज्ञापन प्रकाशित गर्दै सर्वाङ्ग अस्पतालले पदपूर्तिका लागि कर्मचारीको आवेदन माग गरेको छ।
वर्षौं काम गर्दै आइरहेका कर्मचारीहरुले श्रम ऐन अनुसार सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग गर्दा वित्तीय अवस्था कमजोर भएको भन्दै अस्पतालले गैरजिम्मेवारीपूर्वक कर्मचारीलाई कामबाट निष्कासन गरेको थियो।
‘वित्तीय अवस्था कमजोर भएको भन्दै कर्मचारी निष्कासन गरेको अस्पतालको एक महिनामै कसरी वित्तीय अवस्था सुधार भयो? हामीलाई न्यूनतम पारिश्रमिक दिनुपर्छ भनेर अस्पतालले निकालेको हो,’ पूर्वकर्मचारी सुरेन्द्र चौधरीले भने।
न्यूनतम पारिश्रमिक माग गरेपछि उनी लगायत १३ कर्मचारीलाई अस्पतालले कामबाट निष्कासन गरिएको थियो।
विगत २५ वर्षदेखि सर्वाङ्ग अस्पतालमा कार्यरत चौधरीलाई अस्पतालले ९ हजार तलब मात्रै उपलब्ध गराउँदै आएको थियो, सरकारले लागू गरेको १३ हजार ४ सय ५० तलब हुनुपर्ने उनीहरुले माग गरेका थिए।
सर्वाङ्ग अस्पतालको सवारी चालकका रुपमा कार्यरत बेतप्रसाद डाँगीलाई आफ्नो वित्तीय अवस्था निकै नाजुक भएकाले सेवाबाट हटाउनुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै पत्र काटेर निष्कासन गरेको छ।
स्वास्थ्यखबरले अस्पतालसँग प्रतिक्रिया लिँदा कर्मचारीहरुले अभद्र व्यवहार र न्यूनतम पेसागत मर्यादा कायम नगरेको भन्दै गैरजिम्मेवारी प्रतिक्रिया दिएको थियो।
तर कर्मचारीहरुले आफूहरुले श्रम गरेबापत न्यूनतम पारिश्रमिक लगायत सेवासुविधा पाउनुपर्ने माग राखेको बताएका छन्।
‘अस्पतालमा त्यस्तो कुनै अभद्र व्यवहार हामीले गरेका थिएनौं, काम गरेपछि पारिश्रमिक पाउनुपर्ने माग मात्र हामीले राखेका थियौं,’ पूर्व कर्मचारी सुरेन्द्र चौधरीले भने।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील खनालले अस्पतालको वित्तीय अवस्था कमजोर भएकै कारण कर्मचारी निष्कासन गर्नुपर्ने अवस्था आएको दावी गरे।
खनालले भने, ‘त्यो बेला हाम्रो वित्तीय अवस्था ज्यादै नाजुक थियो, त्यसमाथि पनि कर्मचारीहरु विभिन्न युनियनहरुमा आवद्ध हुँदै अस्पतालमा हड्ताल गर्दै दु:ख दिएपछि हामी केही कर्मचारीहरु निष्कासन गर्न बाध्य भएका हौं।’
ध्रुव पौडेल, बेदप्रसाद डाँगी, सुरेन्द्र चौधरी, भावना न्यौपाने, नानु घिमिरे लगायत १३ जना कर्मचारीले न्यूनतम पारिश्रमिक माग गर्दा आफूहरुलाई निष्कासन गरेको भन्दै श्रम कार्यालय टेकुमा उजुरी दिएका छन्।
आफूहरुलाई दिनुपर्ने जति पारिश्रमिक तथा सेवासुविधा नदिई कामबाट निष्कासन गरिएको कर्मचारीहरुको आरोप छ।
तर अस्पतालले दिनुपर्ने जति सबै तलब तथा सेवासुविधा दिएर कामबाट निष्कासन गरेको दावी गरेको छ।
‘अब थप तलब वा सेवासुविधा दिन बाँकी छैन, अस्पतालको काम अवरुद्ध गर्दै अनावश्यक माग राख्दै कर्मचारीहरुले दु:ख दिए,’ सिइओ खनालले भने।
‘अस्पतालले उचित तलब तथा सेवासुविधा दिएको भए कर्मचारी किन आन्दोलित हुन्थे?,' श्रम तथा रोजगार कार्यालय टेकुका प्रमुख खगेन्द्र बस्नेतले स्वास्थ्यखबरसँग भने।
अस्पताल र पूर्वकर्मचारीहरुको विवाद समाधानका लागि छलफल गरिरहेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिएका छन्।
अस्पतालले पुराना कामदार निष्कासन गरेर सोही पदमा नयाँ कामदार माग गर्नु गैरजिम्मेवारी भएको कार्यालय प्रमुख बस्नेतको बुझाइ छ।
उनले भने, ‘नयाँ कर्मचारी राख्न पाउने अस्पतालको अधिकार हो तर सोही पदका पुराना कर्मचारी कटौती गरेर तत्काल सोही पदमा नयाँ कर्मचारी थप गर्न कानुनले पनि दिँदैन, यस विषयलाई हामी गम्भीर रुपमा हेर्छौं।'
यो पनि :