जनकपुर- उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शहिद गंगालाल राष्ट्रिय हुदयकेन्द्र जनकपुरधाम शाखाको आज बिहिबार औपचारिक शुभारम्भ गरेका छन्।
केन्द्रले माघ २७ गतेदेखि जनकपुर अञ्चल अस्पताल परिसरमा बहिरंग विभाग मार्फत अनौपचारिक सेवा शुरु गरेको थियाे।
उद्घाटन समारोहमा उपप्रधानमन्त्री यादवले सबै भन्दा बढी हृदय रोगी रहेको यस प्रदेशमा जनकपुर शाखाको स्थापनाले बिरामीहरुको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । बहिरंग सेवाले मात्र सम्पूर्ण उपचार सम्भव नरहेको उल्लेख गदै उनले अगामी दिनमा यस शाखाको विस्तारको लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारलाई सहयोग गर्न आग्रह समेत गरे।
उनले जनकपुर अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेर गंगालाल हृदय केन्द्र शाखालाई समेत त्यस संग समन्वय गराएर अगाडी बढाउनुपर्ने बताए। उपप्रधानमन्त्री यादवले जनकपुरलाई नमूना अस्पताल बनाउनुका साथै राजविराज र विरगञ्जमा समेत विशिष्ट सेवा सहितका अस्पतालमा परिणत गर्नु पर्नेमा जाेड दिए।
कार्यक्रममा विशिष्ट अतिथि मुख्यमन्त्री लालबाबु राउतले हृदय केन्द्रको स्थापनाले प्रदेशमा रहेको मुटुरोगीहरुको उपचारमा सहयोग पुग्ने भएकाले आवश्यक सबै प्रकारको सहयोग गर्ने बताए। उनले हृदयकेन्द्रको लागि प्रदेशको क्षमता अनुसार आवश्यक रकमको व्यवस्था समेत गरि सकेको बताए।
उनले जनकपुर अस्पताललाई केही दिनभित्रै प्रदेशिक अस्पतालमा परिणत गर्न आफूहरु लागि परेको उल्लेख गरे। मुख्यमन्त्री राउतले जनकपुरमा अस्पतालमा भौतिक संरचनामा मात्र नभइ विशिष्ट सेवाका लागि आवश्यक उपकरण र चिकित्सकको व्यवस्था समेत गर्ने तैयारी प्रदेश सरकारले गरिसकेको र सोही अनुसार कार्यसमेत अघि बढाई सकेको बताए।
शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साह, जनकपुधाम उपमहानगरका प्रमुख लालकिशोर साह, जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र प्रसाद यादव, प्रदेशका स्वास्थ्य निर्देशक डा. प्रमोद यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए।
कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, आर्थिक मामिला मन्त्री विजय यादव, आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, कृषि राज्यमन्त्री योगेन्द्र यादव सहितको सहभागिता रहेको थियो ।