काठमाडाैं- नसर्ने रोग नियन्त्रणका लागि तत्काल रोकथामका कदम चाल्नुपर्ने अनुसन्धानले देखाएको छ।
नेपाल अनुसन्धान परिषद्ले गरेको अनुसन्धानले तीव्र रुपमा वृद्धि भइरहेको नसर्ने रोग रोकथामका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखाएको हो।
परिषद्ले गरेको अनुसन्धानमा नेपालमा २० वर्ष माथिका ३० प्रतिशत व्यक्तिमा चार प्रकारका नसर्ने रोग उच्च देखिएको छ।
जसमध्ये श्वासप्रश्वास सम्बन्धी दीर्घरोग (सिओपिडी) ११ दशमलव ८ प्रतिशत, मधुमेह ८ प्रतिशत, मिर्गाैलासम्बन्धी जटिल रोग ६ प्रतिशत र हृदय रोग २ दशमलव ९ प्रतिशत रहेको अनुसन्धानले देखाएको छ।
परिषद्ले केही समयअघि गरेको जनसंख्या तथा वैज्ञानिक शिखर सम्मेलनमा भएका अनुसन्धानमध्येबाट छनोट गरेर पाँच अनुसन्धान सार्वजनिक गरेको थियो।
अनुसन्धानबाट आएका तथ्यहरु परिषद्ले मन्त्रालयलाई बुझाएको। यी अनुसन्धानमार्फत मन्त्रालयललाई नीति निर्माण गर्न सहयोग पुग्ने परिषद्को विश्वास छ।
बिहीबार आयोजित अनुसन्धान सार्वजनिक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रप्रसाद यादवले परिषद्का अनुसन्धानलाई कार्यान्वयनमा ल्याउन आवश्यक भएको बताए। उनले भने, ‘अहिले रोगको प्रकृति परिवर्तन भएको छ। जीवनशैली, खानपान नै रोगका कारण बनिरहेका छन्, यसबारे पहिले र अहिलेको अवस्थाबारे विश्लेषणात्मक अनुसन्धान हुुनुपर्छ।’
स्वास्थ्यको अहिलेको ग्राफलाई तल झार्न उपलब्ध बजेटले नपुग्ने मन्त्री यादवको भनाइ छ। उनले भने, ‘यसका लागि बजेट बढाउनुपर्छ। यस आर्थिक वर्षमा ६८ अर्ब बजेट छ। हामीलाई थप ३५ अर्ब बजेट आवश्यक पर्छ।’
राष्ट्रिय योजना आयोगकी सदस्य डा उषा झाले अहिलेको अवस्थामा अनुसन्धानमा आधारित योजना बनाउन आवश्यक भएको बताइन्। उनले स्वास्थ्यको मूल केन्द्रमा महिला र युवा रहेकोले उनीहरूलाई प्राथमिकतामा राखी कार्यक्रम बनाउन आवश्यक भएको बताइन्। ५ देखि ६ प्रतिशत जनता अहिले पनि स्वास्थ्य प्रणालीबाट बाहिर रहेको उनको भनाइ छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्क अध्यक्ष डा अन्जनीकुमार झाले परिषद्ले गरेका अनुसन्धानहरू कार्यान्वयनमा ल्याई मन्त्रालयले नीतिनिर्माण बनाओस् भन्ने विश्वास लिएको बताए।
नसर्ने रोगको वर्तमान अवस्था, मातृ शिशु मृत्युदरको अवस्था, सुरक्षित मातृत्व कार्यक्रम, युनिभर्सल हेल्थ कभरेज, कीटजन्य रोगको अवस्थाबारे परिषद्ले प्रदेश अनुसारको तथ्यांकसहितको अवस्था देखाएको उनले बताए।