काठमाडौँ- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा नयाँ भवनबाट सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक कार्यक्रमका बीच उद्धाटन गरेसँगै केन्द्रले सो भवनबाट सेवा प्रवाह सुरु गरेको हो।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू गृहमन्त्री हुँदा सो अस्पताल खोल्न पहल गरेको स्मरण गरे। उनले भने, ‘यही ठाउँमा पहिले बाँसबारी छालाजुत्ता कारखाना थियो, यही ठाउँमा मुटु अस्पताल बनेको छ। लाखौँले उपचार पाएका छन्। यो खुसीको कुरा हो।'
विज्ञान तथा प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताउँदै उनले यही उपलब्धिले नै आफू बाँचिरहेको बताए।
कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, स्वास्थ्य सचिव रामप्रसाद थपलियालगायतको पनि उपस्थिति रहेको थियो।
समारोहमा बोल्दै अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माले यो भवन निर्धारित समयमा पूरा भएको बताउँदै अब बिरामीले आकस्मिक तथा बहिरंग सेवा सहज रुपमा लिन सक्ने बताए।
विगतमा १८ शय्याको आकस्मिक कक्ष अब ३४ शय्याको अत्याधुनिक कक्षमा विस्तार गरिएको छ। यसमा २४औँ घन्टा ल्याबको सुविधा रहनेछ।
भवनको अर्को भागमा जेनेरल तथा पेइङ ओपिडी रहेको छ। ओपिडि कक्षसँगै इसिजी, टिएमटी, इकोलगायतका परीक्षण गर्ने कक्ष छन्। भवनको तेश्रो भागमा शैक्षिक कक्ष छन भने एकाडेमिक हल, लाइबे्ररी, विभिन्न विभागीय चिकित्सकहरुको कक्ष रहेको छ।
केन्द्रको नयाँ भवन ४ तल्ले भवन ५२ करोडको लागतमा बनेको हो।


तस्बिर- सौरभ रानाभाट