काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ११ औं तहका कर्मचारीको पदस्थापन टुंगिएको छ। संघीय संरचना अनुसार कर्मचारी समायोजनका क्रममा फाजिलमा परेका कर्मचारीले समेत नयाँ जिम्मेवारी पाएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार एक वर्षदेखि फाजिलमा रहेका बद्रीबहादुर खड्काले प्रदेश ३ को तालिम केन्द्रका प्रमुखका रुपमा जिम्मेवारी पाएका छन्। प्रदेश ३ को तालिम केन्द्रको कार्यालय टेकुमा रहेको छ।
यसैगरी, कर्णाली प्रदेशमा समायोजनमा परेकी राधिका थपलियाले कर्णाली प्रदेश स्वास्थ्य तालिम केन्द्रको जिम्मेवारी पाएकी छिन्।
गण्डकी प्रदेशमा विनोदविन्दु शर्मा र प्रदेश पाँचको तालिम केन्द्रमा महेश्वर श्रेष्ठले जिम्मेवारी पाएका छन्।
यस्तै काठमाडौं स्वास्थ्य कार्यालयमा कर्णाली प्रदेश स्वास्थ्य निर्देशक रीता जोशी आएकी छिन्। काठमाडौं कार्यालयमा यसअघि कृष्णबहादुर चन्द प्रमुख थिए।
यसैगरी, प्रदेश निर्देशनालय अन्तर्गत प्रदेश १ मा बरिष्ठ जनस्वास्थ्य प्रशासक चन्द्रदेव मेहता, प्रदेश २ मा हरिषचन्द्र साह, प्रदेश ३ मा रमेश अधिकारी, गण्डकी प्रदेशमा खिमबहादुर खड्का, प्रदेश ५ मा विनोद कुमार गिरीले जिम्मेवारी पाएका छन्।
कर्णाली प्रदेशमा भने कोहीलाई जिम्मेवारी दिइएको छैन। प्रदेश ७ मा यसअघि नै डा गुणराज अवस्थी प्रमुखमा कार्यरत छन्।