काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखानाको छड्के अनुगमन गरेका छन्। मन्त्री यादवले वैद्यखानाको अनुगमन गरी प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेस गर्न वैद्यखानाका प्रबन्ध निर्देशकलाई निर्देशन समेत दिएका छन्।
सरकारको एकमात्र आधिकारिक जडिबुटीजन्य औषधि उत्पादक संस्था वैद्यखानाको कामकारबाहीबारे जनगुनासो बढेपछि स्वास्थ्यमन्त्री यादवले बुधबार दिउँसो छड्के अनुगमन गरेका हुन्। अनुमगनका क्रममा चार जना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाइएको थियो।
सिंहदरबार वैद्यखानका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेलले करिब चार दर्जनको संख्यामा कर्मचारी रहेको वैद्यखानामा चार जना बिदामा रहेकाे बताए । उनले विकास समिति नभएकाले काममा समस्या परिरहेकोले त्यसलाई पूर्णता दिनुपर्ने बताएका थिए।
मन्त्री यादवसँगै अनुगमन टोलीमा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्यमन्त्रीका सल्लाहकार डा केके राई सहभागी थिए।