काठमाडौं– अन्य देशको तुलनामा नेपाली कृषकले किटनाशक औषधिको प्रयोग कम गर्ने भए पनि असर भने बढी भएको पाइएको छ।
प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा डिल्लीराज शर्माले नेपालमा प्रतिहेक्टर ३ सय ९६ ग्राम मात्र किटनाशक विषादी प्रयोग गर्ने गरिएको बताएका छन्।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको आयोजनामा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘नेपालीले विषादीको प्रक्रिया मिलाएर उचित प्रयोग गर्न नजानेका कारण बढी असर देखिइरहेको छ।’
डा शर्माका अनुसार जापानमा प्रति हेक्टर १०.८ किलो, कोरियामा १६.६ किलो, इटालीमा १३ किलो विषादीको प्रयोग हुन्छ। त्यता मिलाएर प्रयोग गरिने भएका कारण नेपालमा जत्तिको स्वास्थ्यमा गम्भीर असर देखिएको छैन।’
विषादी प्रयोग गरिएका खाद्यान्न र तरकारीको उपभोग गर्दा स्वास्थ्यमा असर हुने जानकारी दिंदै उनले कालिमाटी तरकारी बजारमा कार्बामेट र अर्गानोफोसफेट परीक्षण गर्ने मेसिन राखेर अनुगमन गरिरहेको जानकारी दिए।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले रासायनिक विषादीलाई विस्थापित गरी जैविक विषादीको प्रयोग गर्न सबै तह र तप्काबाट दबाब दिनुपर्ने बताए। सदनमा अलपत्र अवस्थामा झैं रहेको जीवनाशक विषादी व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक अबिलम्व पारित गराउन पहल गर्नुपर्ने उनको भनाइ थियो।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्राडा शरदराज वन्तले नेपालमा २५ थरीका जैविक विषादीको प्रयोग भइरहेको र यसलाई प्रमाणीकरण गरी प्रयोग गर्न प्रोत्साहन दिएको खण्डमा जनता स्वस्थ हुन सक्ने जानकारी दिए।
जनस्वास्थ्यविद् डा अरुणा उप्रेतीले विषादीयुक्त खानाको सेवनले फोक्सो, कलेजो, श्वासप्रश्वास प्रणाली र प्रतिरोधात्मक क्षमतामा दीर्घ असर पर्ने जानकारी दिइन्। विभिन्न अध्ययनले विषादीबाट स्मरण शक्तिमा ह्रास हुने, मनोरोग लाग्ने, छालाको रोग लाग्ने पुष्टि भएको पनि उनले बताइन्। उनका अनुसार विषादीको अधिक प्रयोगले प्रजनन प्रणालीमा असर भइ गर्भ तुहिने, गर्भ नबस्ने, प्रजनन् क्षमतामा कमी हुनेगर्छ।