अछाम- न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशकमा डा विकाश गौचन नियुक्त भएका छन्। संस्थाले बिहीबार उनलाई निर्देशकमा नियुक्त गरेको हो।
यसअघि बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा कार्यरत डा गौचनलाई जिल्लामा अन्तर्गत संचालित अस्पताल तथा अन्य सबै कार्यक्रमको नेतृत्व गर्ने गरी जिम्मेवारी दिइएको हो।
न्याय हेल्थ नेपालले अछाममा बयालपाटा अस्पताल, चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रका साथै सामुदायिक स्वास्थ्य कार्यक्रम पनि संचालन गर्दै आईरहेको छ। जिल्लाका २ नगरपालिका तथा ३ गाँउपालिकामा सामुदायिक स्वास्थ्य कार्यक्रम संचालन गर्दै आइरहेको छ।
विगत ५ वर्षदेखि मेडिकल निर्देशकका रूपमा कार्यरत डा गौचनले निर्देशकमा नियुक्त भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै संस्थालाई दिर्घकालीन रुपमा संचालन गर्न र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतबिद्धता व्यक्त गरेका छन्।