इटहरी– सम्पूर्ण सन्तान अपांग भएको तामाङ परिवारलाई इटहरी उपमहानगरपालिकाले वार्षिक एक लाख दिने भएको छ।
हाललाई एक लाख दिने र आगामी वर्षदेखि राहत रकम बढाउँदै लैजाने उपमेयर लक्ष्मी गौतमले बताइन्। तामाङ परिवार लामो समयदेखि पीडामा रहेकाले राहत स्वरुप उक्त रकम दिन लागिएको हो। तामाङ परिवारले भोगेको पीडाबारे स्वास्थ्यखबरले बैसाख ३१ गते समाचार प्रकाशन गरेको थियो।
इटहरी २ का मनमाया र लक्ष्मण तामाङका ४ सन्तान मध्ये चारैजना पूर्ण अपांग छन्। सुरुमा स्वस्थ जन्मिएका उनीहरु अहिले कोमाकै अवस्थामा छन्। ४ जना मध्ये ३ जना चटपटाउन पनि सक्दैनन्। दुई वर्ष अगाडिसम्म सामान्य रहेको कान्छो सन्तानलाई पनि समस्या देखा पर्न थालेको छ। उनी पनि राम्ररी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन्।
जन्मँदा स्वस्थ जन्मिएका उनीहरु १५ देखि १७ वर्षको उमेरमा थला पर्न थालेका हुन्। सुरुमा आँखा नदेख्ने र मानसिक रोगी जस्तो लक्षण देखा पर्ने र पछि कोमामै पुग्ने अवस्था देखिएको बुवा लक्ष्मण बताउँछन्।
छोरीहरु अस्मिता र सुस्मिता तथा छोराहरु सरोज र सञ्जीव एकै प्रकारको समस्याबाट ग्रसित छन्। सुरुमा धामीझाँक्री लगाएको र केही पनि सुधार नभएपछि अस्पताल लगेको आमा मनमायाले बताइन्। वीर अस्पतालमा उपचार गराउँदा सामान्य भन्दै औषधी दिए पनि पछि रोग निको नभएको उनको भनाइ छ। पछि भारतका विभिन्न अस्पतालमा पुर्याउँदासमेत निको हुन नसकेको उनले बताइन्।
हातखुट्टा चलाउन नसक्ने र बोल्नसमेत नसक्ने भएपछि उपमहानगरले केही दिनअघि घरमै पूर्ण अपांगताको रातो कार्ड पुर्याइदिएको थियो। उपमेयर गौतम आफै पुगेर कार्ड दिएकी हुन्। रातो कार्ड पाएपछि अब मासिक रुपमा ३ हजारका दरले पीडितहरुले रकम पाउँछन्। रकम पनि मासिक रुपमा घरमै पुर्याइने उपमेयर गौतमले बताइन्।
घरैमा कार्ड आएपछि सरकार रहेछ भन्ने अनुभूति भएको लक्ष्मण बताउँछन्। स्थानीय सरकारले वार्षिक एक लाख दिने भएपछि खुसी लागेको उनको भनाइ छ।
लक्ष्मण नेपाली सेनाका रिडायर्ड सिपाही हुन्। पेन्सनबाट आएको रकमले जेनतेन गुजारा चलाइरहेका उनी अब केही राहत मिल्ने बताउँछन्। हाल उनी एक सहकारीमा बजार प्रतिनिधिको रुपमा काम गर्छन्। त्यसैबाट खानेकुरा र औषधिको बन्दोबस्ती मिलाउँदै आएको उनको भनाइ छ। अब भने धेरै सहज महसुस हुनेमा उनी विश्वस्त छन्।