काठमाडौं— आगामी भदौदेखि सामुदायिक विद्यालयका झण्डै १६ लाख छात्रालाई महिनावारी हुँदा प्रयोग गर्ने प्याड वितरण गरिने भएको छ।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारी विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म पढ्ने छात्राहरुलाई महिनावारी हुँदा प्रयोग गने सेनेटरी प्याड निशुल्क वितरण गर्ने घोषणा गरेको थियो।
महिनावारी हुँदा विद्यालयमा छाड्ने छात्राको संख्या कम गर्न र सो समयमा पनि विद्यालय जान प्रेरित गर्ने सरकारको उद्देश्य हो।
यसको जिम्मा सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा परिवार नियोजन तथा स्वास्थ्य प्रजनन् शाखा प्रमुख कविता अर्यालले प्याड वितरणका साथसाथै जनचेतनालाई सँगै अगाडी बढाइने बताइन्।
एक पटक प्रयोग गरेर फाल्नेभन्दा पुनः प्रयोग गर्न सकिने कपडाको प्याड वितरण गर्ने सोचमा रहेको अर्यालले बताइन्।
बजारमा उपलब्ध हुने प्याड कुहिन वर्षौ लाग्ने, जलाउन नहुने र वातावरणलाई असर पर्ने खालका भएकाले पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरिने उनको भनाई छ।
उनले भनिन्,‘प्याड वितरण गरेर मात्र हुँदैन, पुनः प्रयोग कसरी गर्ने, कति समय परिवर्तन गर्ने, प्रयोग गर्न नमिल्ने भएपछि कसरी व्यवस्थापन गर्ने, यो बेला कस्तो खाना खाने भन्ने कुरा पनि सिकाउनुपर्छ, हामीले त्यसका लागि योजना बनाइरहेका छौँ।’ प्याड वितरणसँगै जनचेतना पनि आवश्यक छ उनले भनिन् ।
हरेक महिना १६ लाख छात्राका लागि कम्तिमा दुई प्याकेट प्याड आवश्यक पर्छ। यो हिसाबले करिब वार्षिक झण्डै दुई अर्ब रुपैँया लाग्ने बताइएको छ।
महिनावारी भएको समयमा हरेक ४ देखि ६ घण्टामा प्याड फेर्नुपर्ने हुन्छ। कपडाको प्याड छ भने त्यसलाई राम्ररी धोएर घाममा सुकाएर मात्र अर्को पटक प्रयोग गर्नुपर्ने हुन्छ।