काठमाडौं– राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिएका ९ जना डाक्टरको साउन २६ र २७ गते अन्तर्वार्ता र प्रस्तुतीकरण हुने भएको छ।
उपाध्याक्षको लागि आवेदन दिएका ११ जनामध्ये दुई जनाको भने आवेदन रद्ध भएको छ।
आवेदनको सूचना जारी गर्दा नै सार्वजनिक लाभ हुने पदमा नभएको, आफ्नो कलेज वा लगानी नभएको, कुनै संस्थाको सञ्चालक नभएको जस्ता विषय खुलाएर लिखित रुपमै माग गरिएको थियो।
तर, प्राडा प्रमोदकुमार शर्मा र प्राडा जेएन पाण्डेय ‘हिमाली’ले सो कुरा लिखित रुपमा नदिएपछि आवेदन रद्ध गरिएको चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले जनाएको छ ।
प्राडा श्रीकृष्ण गिरी, प्राडा शम्भुकुमार पहारी, प्राडा सुरेन्द्र शेरचन, प्राडा राजेन्द्रप्रसाद साह, प्राडा रमेशचन्द्र सिंह, प्राडा यहुनचन्द्र शिवाकोटी, प्राडा तरुण पौडेल, डा निलमणि उपाध्याय र प्राडा पारसकुमार पोखरेलमध्ये एक जना चिकित्सा शिक्षा आयोगको पहिलो उपाध्यक्ष बन्ने छन्।
आगामी २६ र २७ गतेको समितिका पदिाधिकारी र विज्ञहरुमाझ अन्तर्वार्ता र प्रस्तुतीकरण दिने ९ जना मध्येबाटै उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस हुने छ।
अहिले भने विज्ञको समूहले उमेद्वारहरुको भिजन पेपरहरु अध्ययन गरिरहेको बताइएको छ।
समितिले प्रस्तुतीकरण र अन्तर्वार्तामा उपस्थित हुँदा आवेदन साथ संलग्न सबै कागजका सक्कलै प्रति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भएपछि आयोगको नेतृत्वदायी भूमिका बहन गर्ने सम्बन्धी सोचपत्र तथा ४ वर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण सहित उपस्थित हुन जानकारी गराएको छ।
समितिले खुला प्रतिस्पर्धाबाट उपाध्यक्ष छनोट गर्न गत १ देखि १५ साउनसम्म म्याद दिएर आवेदन मागेको थियो। त्यसअघि आवेदन हालेका ६ जनाको आवेदन रद्ध गर्दै आयोगले दोस्रो पटक आवेदन मागेको थियो।
उपाध्यक्ष नियुक्ति गर्न सरकारले गठन गरेको सिफारिस समितिले उपाध्यक्षका लागि दरखास्त हाल्न साउन १ गते दोस्रो पटक सार्वजनिक सूचना जारी गरेको थियो।
नयाँ सूचना अनुसार साउन १५ गतेसम्म उपाध्यक्षका लागि इच्छुक उम्मेदवारले आवश्यक प्रक्रिया पूरा गरी दरखास्त हाल्न समय दिइएको थियो। सोही अनुसार आज अन्तिम दिनसम्म ११ जनाले आवेदन दिएका थिए।
समितिले पहिलो पटक असार ९ गते आवेदन माग गरेको थियो।
सो समयमा ६ जना डाक्टरले आवदेन दिएका थिए। आवेदन दिनेमा गौरिबहादुर कार्की आयोगले दोषी ठहर गरेर कारबाही सिफारिस गरेका डा निलमणि उपाध्याय पनि थिए। उनले यस पटक पनि आवदेन दिएका छन्।
गत चैत ४ गते बसेको आयोगको पहिलो बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा आयोगको कार्यकारी अधिकार रहने उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन अनुसार सिफारिस समितिमा लोकसेवा आयोगको अध्यक्ष संयोजक रहने व्यवस्था छ।
उक्त समितिमा मुख्यसचिव वा निजले तोकेको प्रधानमन्त्री कार्यालयका सचिव र चिकित्सा क्षेत्रका प्राध्यापकमध्ये सरकारले तोकेको महिला एक जना सदस्य हुने व्यवस्था छ।
समितिले दरखास्त दिएका उम्मेदवारमध्ये व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा लिखित र मौखिक परीक्षा लिई योग्यता पुगेका आवेदक मध्येबाट उपाध्यक्ष नियुक्तिका लागि सम्भावित तीन जनाको नाम सरकार समक्ष सिफारिस गर्ने छ। सोमध्ये सरकारले एक जनालाई उपाध्यक्ष नियुक्ति गर्ने छ।
उपाध्यक्ष हुन मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा बीस वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ।