काठमाडौं- सर्वोच्च अदालतले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्चको यो आदेशसँगै विभागको महानिर्देशकका रुपमा ढकालले पुनः जिम्मेवारी सम्हाल्ने भएका छन्। उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले ढकाललाई विभागबाट औषधि प्रयोगशालामा सरुवा गरेका थिए। विभागमा भने १० औं तहका पानबहादुर क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिएका थिए।
ढकालले आफूमाथि अन्याय भएको भन्दै २९ असारमा सर्वोच्च पुगेका थिए। मंगलबार न्यायाधीश कुमार रेग्मी र ईश्वर खतिवडाको संयुक्त इजलासले महानिर्देशकबाट ढकाललाई सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।