काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माको कार्यकाल सकिँदै गर्दा सो पदमा को नयाँ नियुक्त होला भन्ने चर्चा र चासो सुरु भएको छ। कतिपय बिचौलियाले नियुक्ति प्रक्रिया प्रभावित पार्न विभिन्न शक्तिकेन्द्र धाउने मात्र होइन, सरोकारवाला रिझाउन समेत थालेका छन्।
कार्यकारी निर्देशक डा. शर्माको कार्यकाल केही दिन मात्र बाँकी रहँदा हामीले गंगालालमा नियुक्ति पाउन को-को चर्चामा छन् भनेर सोधखोज गरेका थियौं। सम्बद्ध स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री केपी ओली निकट स्रोतका अनुसार सो पदका लागि गंगालालमै कार्यरत डा. युवराज लिम्बू र डा. चन्द्रमणि अधिकारीको नाम चर्चामा छ।
तर, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका अधिकांश कर्मचारीहरू भने राजनीतिक दल र सत्ताको प्रभावमा ‘सिनियर’हरुलाई पन्छाएर कार्यकारी निर्देशक नियुक्त गर्दा अस्पतालको छवि धमिलो हुने मात्र नभएर अस्पतालको व्यवस्थापकीय पक्षमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भन्दै चिन्तित देखिएका छन्।
एक वर्षमा मात्र झन्डै २ लाख बिरामीलाई सेवा प्रवाह गर्ने गंगालाल हृदय केन्द्रका कर्मचारीले सिनियर कन्सल्टेन्ट डा. रामेश कोइरालालाई अबको नेतृत्व दिइनुपर्ने भन्दै प्रधानमन्त्री केपी ओलीदेखि तालुकदार मन्त्री उपेन्द्र यादव र स्वास्थ्य सचिवलाई समेत हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन्।
गंगालालका मौजुदा चिकित्सकमध्ये सबैभन्दा वरिष्ठ हुन्, डाक्टर रवि मल्ल। डा मल्लले अस्पतालको नेतृत्व लिन त्यति चासो नदेखाएपछि कर्मचारीले वरिष्ठताकै आधारमा विकल्प खोजिनुपर्ने भन्दै डा कोइरालालाई नेतृत्व दिनुपर्नेमा जोड दिएका हुन्।
चर्चामा रहेका डा. युवराज लिम्बू डा कोइरालाभन्दा एक तह ‘जुनियर’र डा. चन्द्रमणि अधिकारी दुई तह ‘जुनियर’हुन्। डा. लिम्बू तालुकदार मन्त्री यादवसँग निकट मानिन्छन् भने डा अधिकारी प्रधानमन्त्री ओली निकट।
प्रधानमन्त्री ओली निकटका स्रोतले गंगालालको नेतृत्वबारे बालुवाटारमा सामान्य छलफल भए पनि कुनै निर्णय भइनसकेको बताएका छन्। ‘गंगालालकै नेतृत्व लिइसकेका कहलिएका एकजना डाक्टरसाबले डा. अधिकारीलाई बनाउनुपर्छ भन्दै लबिङ गरिरहनुभएको छ,’स्रोतले भन्यो, ‘तर गंगालालमा सक्षम नेतृत्व चाहिन्छ भन्नेमा प्रधानमन्त्री पनि सचेत हुनुहुन्छ। कनिष्ठलाई नेतृत्व दिएर हुनसक्ने जोखिमबारे पनि छलफल होला नै।’
उता, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गंगालालको कार्यकारी निर्देशकका लागि आफ्नै सल्लाहकार परिषदका सदस्य डा. लिम्बूलाई प्राथमिकतामा राखे पनि उनी यस विषयमा अझै छलफल गर्ने ‘मुड’मा छन्। यसबारे केही सरोकारवालाहरूसँग छलफल गरे पनि उनले प्रधानमन्त्री ओलीसँग भने कुराकानी गरिनसकेको मन्त्रालय स्रोतको भनाइ छ।