काठमाडौं- रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न १ सय ३० वटा स्वास्थ्य संस्था छनोट भएका छन्।
मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुरक अनुगमनबाट छनोट भएका ३१ वटा स्वास्थ्य संस्थाहरुको सूची सार्वजनिक गरेसँगै मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १ सय ३० वटा स्वास्थ्य संस्था छनोट भएका हुन्।
मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न २ सय ९० स्वास्थ्य संस्था इच्छुक देखिएका थिए।
श्रम मन्त्रालयको अनुगमन टोलीले पहिलो पटकको अनुगमनबाट ९९ वटा स्वास्थ्य संस्थाहरु छनोट गरेको थियो। पहिलो पटकको अनुगमनबाट छनोटमा नपरेका स्वास्थ्य संस्थाहरुले पुनः सूचिकृत गरिपाऊँ भन्दै गरेको उजुरीका आधारमा मन्त्रालयले दोस्रो पटक पुुरक अनुगमन गरेको थियो।
सोही पुरक अनुगमनबाट उपत्यका भित्र र बाहिर गरी विभिन्न स्थानका थप ३१ वटा स्वास्थ्य संस्था सूचिकृत भएका हुन्।
पुरक अनुगमनबाट पनि २२ वटा स्वास्थ्य संस्थाले मापदण्ड पूरा नगरेको मन्त्रालयले जानकारी दिएको छ। ५ वटा स्वास्थ्य संस्थाहरु अनुगमनका क्रममा टोली जाँदा बन्द रहेको मन्त्रालयले जनाएको छ।
मलेसिया सरकारले पठाएको स्वास्थ्य मापदण्ड पूरा गरेका १ सय ३० स्वास्थ्य संस्था छनोट गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव उमेश ढुंगानाले नेपाल सरकारका तर्फबाट छनोट भएका स्वास्थ्य संस्थालाई मलेसिया सरकारकारले अनुगमन गरी बायोमेट्रिक प्रणालीमा मान्यता दिएपछि मलेसिया रोजगारी सुचारु हुने बताए। ‘मलेसिया सरकारले श्रम समझदारी अनुसार कामदार लैजाने इच्छा देखाएपछि मात्रै मलेसिया रोजगारी सूचारु हुन्छ,’ सहसचिव ढुंगानाले भने।
रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अनावश्यक आर्थिक भार थपिएको तथा सिण्डिकेट भएको भन्दै श्रममन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्दको घोषणा गरेका थिए। मलेसिया रोजगारी बन्द भएको १४ महिना बितिसक्दा पनि अझैसम्म खुल्न सकेको छैन।
२०७५ कात्तिक १२ गते मलेसिया सरकार र नेपाल सरकारबीच भएको श्रम समझदारी पत्रमा कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनीले नै बेहोर्ने उल्लेख छ। तर, श्रम समझदारीको ९ महिना बितिसक्दा पनि कलिङ भिसा लागेका कामदारहरु पुरानै प्रक्रियामार्फत मलेसिया गइरहेका छन्।