काठमाडाैँ - नेपाल चिकित्सक संघले चिकित्सकलाई प्राथमिक तहकाे शिक्षक सरहकाे तलबमान दिएकाे भन्दै आपत्ति जनाएकाे छ। हालै सरकारले कर्मचारीहरुको नयाँ तलबमान २०७६ श्रावण १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेकाे छ।
नेपाल चिकित्सक संघले दश जाेड दुई अध्ययन पश्चात् ५ बर्ष एमबिबिएस अध्ययन गरेका चिकित्सकहरुको तलबमान प्राथमिक तृतीय श्रेणीको शिक्षकको तलब बराबर भएकाेमा गम्भिर ध्यानाकर्षण भएकाे भन्दै आज प्रेस विज्ञप्ती सार्वजनिक गरेकाे छ।
विज्ञप्तिमा सरकारी सेवामा प्रवेश गर्दा एमबिबिएस अध्ययन गरेका चिकित्सकहरुको शुरु नियुक्त्ति नै ८ औं तहबाट भई रहेको अवस्थामा एसएलसी अध्ययन पश्चात् नेपाल सरकारको प्राथमिक तृतीय श्रेणी सरहको तलबमानले चिकित्सकहरुलाई आर्कषित गर्न नसक्ने नेपाल चिकित्सक संघको ठहर रहेकाे उल्लेख गरिएकाे छ।
संघले विद्यमान तलबका सम्बन्धमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका सरोकारवाला निकायले गम्भिर रुपमा मनन गरी अभिलम्ब उक्त तलब सञ्चाउन माग गरेकाे छ।कम तलबले सरकारी सेवामा समर्पित भई रहेका चिकित्सकहरुको मनोबल समेत गिर्ने गम्भिर प्ररिस्थिति आउन सक्ने बताउँदै सरोकारवाला निकाय गम्भिर हुन संघले अपिल गरेकाे छ।