काठमाडौं- कुवेतको अदाम अस्पतालमा उपचारका क्रममा कोमाबाट ६ महिनापछि होस खुलेकी बागलुङ ढोरपाटन नगरपालिका-१ कि हिरा दमाईलाई स्वदेश ल्याइएको छ।
अदाम अस्पतालमा उपचारपछि ह्विलचियरमा हिड्न सक्ने भएकी हिरालाई कुवेतस्थित नेपाली दूतावासले बुधबार स्वदेश पठाएको हो। ‘दिदी बुधबार बिहानै काठमाडौं आइपुग्नुभयो, दिदीलाई लिन बागलुङबाट आएको हुँ,’ हिराका भदा मिथुन नेपालीले नेपाल लाइभलाई भने।
हिराको अझै पनि दुवै हात र दाइने खुट्टा नचल्ने समस्या छ। ‘दिदीको होस् खुलेको ५ महिनापछि बल्ल आइपुग्नु भयो, खुसी लागेको छ, अब बागलुङ लगेर नै दिदीको हेरचाह गर्छौँ,’ मिथुनले भने।
आफन्तका अनुसार रोजगारीका लागि कम्पनीको काम भन्दै हिरालाई कुवेत लगिएको भए पनि उनले त्यहाँ पुगेर घरेलु कामदारको ररुपमा काम गर्न बाध्य भएकी थिइन्।
घरेलु कामदारका रुपमा कुवेत पुर्याइएकी हिरालाई घर मालिकले दुर्व्यवहार गर्न थालेपछि उनी त्यहाँबाट भागेर अवैधरुपमा बस्दै आएकी थिइन्। घरको काम गर्दागर्दै भागेको अवस्थामा त्यहाँको स्थानीय प्रहरीले उनलाई पक्राउ गरेको थियो। हिरासतमै रहेको अवस्थामा हिरा अचेत हुन पुग्छिन्।
त्यसपछि हिरालाई प्रहरीले अस्पताल पुर्याइ कुवेतस्थित नेपाली दूतावासमा खबर गरेको दूतावासका तृतीय सचिव मनोज सिंहले जानकारी दिए।
हिरालाई उपचार गर्दा लागेको सम्पूर्ण खर्च कुवेत सरकारले बेहोर्ने गरी दूतावासले पहल गरेको सिंहले बताए।
नेपाल आउँदा लागेको हवाई टिकट पनि कुवेतस्थित विभिन्न सामाजिक संघसंस्थाहरुले सहयोग गरेका दूतावासले जनाएको छ।