डडेल्धुरा- सूदुरपश्चिम प्रदेश सरकारले ७ पहाडी जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि अत्याधुनिक एम्बुलेन्स खरिद गरेको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा एम्बुलेन्स खरिदका लागि ६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो। सोहि बजेटबाट मन्त्रालयले १६ वटा एम्बुलेन्स खरिद गरेको हो।
संघीय सरकारको अर्थ मन्त्रालयले भन्सार छुटका लागि इजाजत दिएपछि सामाजिक विकास मन्त्रालयले ३९ लाखका दरले ‘बी ग्रेड’ का एम्बुलेन्स खरिद गरेको हो। एम्बुलेन्स खरिद गरी यातायात व्यवस्था कार्यालयमा दर्ता प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ।
हरेक निर्वाचन क्षेत्रको एउटा स्थानीय तहलाई मर्मत र चालकको व्यवस्था गर्ने गरी एम्बुलेन्स हस्तान्तरण हुनेछन्।
सूदुरपश्चिममा ’बी ग्रेड’ को अहिलेसम्म एउटा पनि एम्बुलेन्स थिएन। प्रदेशमा ७ वटा पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटीमा प्रदेश सभाका १६ निर्वाचन क्षेत्र छन्।
किनिएका एम्बुलेन्स दशैँ अगाडि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिने मन्त्रालयका सह–सचिव तथा प्रवक्ता झंकरबहादुर विष्टले जानकारी दिए।
’बी ग्रेड’ को एम्बुलेन्समा आकस्मिक उपचारका उपकरणसँगै ट्राभलिङ भेन्टिलेटर, अटोमेटेड एक्सटर्नल डिफ्राइब्रिलेटर, चेस्ट ड्रेनेज ट्युब, हेमो स्टेटिक सेटबाहेक ’ए ग्रेड’का सबै उपकरण र सुविधा हुने बताइएको छ।
मन्त्रालयले दिएको जानकारी अनुसार बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको मटेला र रायल तथा डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकीमा एम्बुलेन्स वितरण हुनेछन्।
त्यस्तै डोटीमा, जिल्ला अस्पताल र चमारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल र बाब्ला स्वास्थ्य चौकीलाई संयुक्त रुपमा एक एम्बुलेन्स, अछामकै बान्नीगढी र विनायक स्वास्थ्य चौकीलाई पनि संयुक्तरुपमा एउटा एम्बुलेन्स हस्तान्तरण हुने बताइएको छ।