काठमाडौं- उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रालयका संरचना परिमार्जन गरी स्वास्थ्य बिमाहेर्न छुट्टै इकाई बनाइने बताएका छन्।
स्वास्थ्य मन्त्रालयमा सोमबार भएको राष्ट्रिय स्वास्थ्य बिमाबोर्डको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले स्वास्थ्य बीमाको दायरा विस्तार गर्न पनि मन्त्रालयको पुनर्संरचना गरी बिमा हेर्ने इकाइ गठन गर्न लागिएको बताएका थिए। कार्यक्रममा उनले बिमितले नवीकरण गर्न नमानेका विषयमा विश्लेषण गर्नुपर्ने बताएका थिए।
‘हालसम्म कतिले बिमामा गराए, कतिले प्रिमियम तिरे, कतिले छाडे, किन छाडे भन्ने कुराको सबै कारण खोजेर विश्लेषण गरी सच्चिएर अघि बढ्नुपर्छ,' मन्त्री यादवले भने, 'किन बिमा गराईराखेका छौं, त्यो पनि हेनुपर्छ र सेवा सुविधा दिने सरकारी अस्पताल कस्ता छन् विचार पुर्याउन आवश्यक छ।’
स्वास्थ्य बिमाकार्यक्रम सञ्चालनका लागि निजी अस्पतालले पनि रुचि देखाइरहेको भन्दै मन्त्री यादवले तिनीहरुको सेवा सुविधाको अवस्था, फार्मेसीको व्यवस्था हेरेर बोर्डले निर्णय गरी दिन सक्ने बताएका थिए।
बीमाका कार्यक्रम बोर्डभित्र मिलाउनुपर्ने विषय आन्तरिक विषयमा आवश्यकता अनुसार नीतिनियम, जोखिम व्यवस्थापन, प्रविधिको प्रयोग, जिम्मेवारी बाँडफाँटलगायतका विषयमा बोर्डले ध्यान दिनुपर्ने मन्त्री यादवले बताए। अन्य संघ/संस्थासँग राख्नुपर्ने सम्बन्ध, समन्वय, सहकार्य तथा सहयोगसम्बन्धी विषयमा समेत बोर्डले ध्यान पुर्याउनुपर्ने उनको भनाइ थियो।
बैठकमा राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले संस्थाको विभिन्न क्षेत्रमा भएका काम कारबाहीका बारेमा जानकारी गराएका थिए।