काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजनसँगै पदस्थापनको कामलाई तीव्रता दिइरहेको छ। तर, मन्त्रालयबाट पछिल्लो समयमा भइरहेको पदस्थापनको काममा भने तीन वटा आरोप लाग्न थालेको छ।
पदस्थापनका क्रममा मन्त्रालयमाथि लागेको पहिलो र सबैभन्दा ठूलो आरोप हो, आर्थिक चलखेलको।
मन्त्रालय र माताहतका कार्यालयमा तल्लो तहका कर्मचारीहरु पदस्थापनका क्रममा मन्त्रालयमा ठूलै आर्थिक चलखेल भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। कर्मचारीहरुका अनुसार पदस्थापनका क्रममा हालसम्म विभिन्न व्यक्तिसँग ८० लाख रुपैयाँ भन्दा बढी रकम संकलन भइसकेको छ।
पदस्थापनका क्रममा कर्मचारीलाई रोजेको कार्यालय मिलाउने भन्दै रकम असुल्ने काम भइरहेको आरोप लागेको हो। मन्त्रालयबाट हालसम्म ९, १० र ११ औं तहका कर्मचारीको पदस्थापन भइसकेको छ। पदस्थापन भएका धेरै कर्मचारीले जिम्मेवारी समेत सम्हालिसकेका छन्।
मन्त्रालयमाथि लागेको दोस्रो आरोप हो, राजनीतिक अस्थाका आधारमा र पहुँचका आधारमा हुने पक्षपात।
पदस्थापनका क्रममा कर्मचारीहरुलाई राजनीतिक अस्थाका र पहुँचका आधारमा पन्छाउने काम भइरहेको आरोप पनि मन्त्रालय माथि लागेको छ। राजनीतिक रुपमा नेकपा निकटका कर्मचारी र मन्त्री यादवको दल निकटका कर्मचारीलाई राम्रा स्थानमा र अन्य कर्मचारीलाई अन्यत्र पन्छाउने काम भइरहेको कर्मचारीको गुनासो छ।
एक कर्मचारी भन्छन्, ‘राम्रा भन्दा पनि हाम्रा र पैसा बुझाउनेलाई रोजेको कार्यालयमा र पहुँच नभएका कर्मचारीलाई प्रदेश तथा अन्यत्र पन्छाउने काम भइरहेको छ।’
र,
मन्त्रालयमाथि लागेको तेस्रो आरोप हो, केही कर्मचारीको समायोजनका क्रममा जानीजानी नाम छुटाइदिनु।
कर्मचारी समायोजनका क्रममा आफू निकटका कर्मचारीलाई राम्रो स्थानमा पदस्थापन गर्न ती कर्मचारीका प्रतिस्पर्धीको नाम नै समायोजनका क्रममा छुटाउने काम भएको आरोप समेत मन्त्रालयमाथि लागेको छ।
‘केही कर्मचारीको व्यक्तिगत स्वार्थका लागि सम्रग प्रणाली नै भत्काउने काम भएको छ,’ मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘यस्तो तरीकाले स्वास्थ्य मन्त्रालय चलाउन मुस्किल पर्छ।’
उनका अनुसार क्षमता भएका र काम गर्न सक्ने दक्ष कर्मचारीलाई पक्षपात गर्दै अन्यत्र पन्छाउँदै जाने र आफ्ना वा पैसा बुझाउनेलाई माथि ल्याउने काम हुँदा समस्या निम्तिएको छ।
कर्मचारी समायोजनसँगै पदस्थापनका क्रममा मन्त्रालयमाथि लागेका यी आरोपका विषयमा स्वास्थ्यखबरले मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठसँग जिज्ञासा राखेको छ।
प्रवक्ता श्रेष्ठले यी तीनै वटा आरोप गलत भएको बताए। उनले मन्त्रालयले नियम कानुन अनुसार नै काम अगाडि बढाइरहेको पनि जानकारी दिए।
प्रवक्ता श्रेष्ठले मन्त्रालयमाथि लागेको तीन वटै आरोपका विषयमा के भने?
पहिलो आरोप आर्थिक चलखेलका विषयमा :
आर्थिक चलखेल गर्ने मानिसलाई तत्काले समातेर अख्तियारमा पुर्याउनुपर्छ। कसैसँग कुनै प्रमाण छ भने तुरुन्त मन्त्रालयमा सम्पर्क राख्नुहोस्, हामीसँग सम्पर्क राख्नुहोस्। त्यस्तो मानिसलाई फाँसी दिनुपर्छ। पदस्थापनमा, समायोजनमा कुनै पनि आर्थिक चलखेल भएको छैन। यसमा कुनै त्यस्तो चलखेल भएको प्रमाण दिने व्यक्तिलाई म पुरस्कृत गर्नेछु। व्यक्तिगत तर्फबाट एक लाख पुरस्कार दिन्छु। यो विषयमा प्रमाण छ भने अख्तियार र सतर्कता केन्द्रमा उजुरी दिन पनि म सबैसँग आग्रह गर्छु।
दोस्रो आरोप राजनीतक आस्थाका आधारमा हुने पक्षपातका विषय :
हामीले कुनै पनि कर्मचारीलाई पक्षपात गरेका छैनौँ। समायोजनको कानुन अनुसार नै काम अगाडि बढीरहेको छ। यहाँ कुनै आफ्नो मानिसलाई राख्ने, अर्कोलाई फाल्ने काम हुनैसक्दैन। किनभने सबै काम समायोजन कानुन अनुसार भएको छ। प्रत्येक कर्मचारीले न्याय पाउनुपर्छ।
तेस्रो आरोप, समायोजन छुटाइदिइएको विषयमा :
कर्मचारीको जानीजानी छुटेको छैन। हामीले छुटाएको छैन्। तर, छुटेको हुनसक्छ। यो सामान्य प्रशासन मन्त्रालयबाट आउने क्रममा कहीँ छुटेको हुनसक्छ। त्यो छुटेको मानिसलाई हामीले उहाँलाई अन्याय नहुने गरी प्रस्ताव गर्दैछौं।