जनकपुर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा सर्पदंश उपचार केन्द्रको लागि भवन शिलान्यास गरिएको छ। क्षीरेश्वरनाथ नगरपालिका लगायत धनुषाका जनताहरुलाई सर्पदंशको उपचार सेवा दिने उद्देश्यले युएनडिपि र नगरपालिकाको सहयोगमा महेन्द्रनगरस्थित नेपाली सेनाको ब्यारेकभित्र सर्पदंश उपचार केन्द्र निर्माण हुन लागेको हो।
उपचार केन्द्र भवनको शिलान्यास क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले सोमबार गरेका छन्।
करिब अढाई करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको २ तल्ले उपचार केन्द्र भवनमा २० वटा बेड रहने र बताइएको छ।
नगरपालिका र युएनडिपी बीच भएको सम्झौता अनुसार भवनको कार्य अघि बढाइएको छ।
उक्त भवनको शिलान्यास गर्दै नगर प्रमुख पजियारले निर्माण पश्चात् उपचार केन्द्रबाट धनुषा लगायतका जिल्लाका सर्पदंशबाट प्रभावित हजारौं बिरामीहरुले लाभ लिने विश्वास व्यक्त गरे ।
प्रमुख पजियारले भने, ‘यो सर्पदंश उपचार केन्द्र जिल्लामा पहिलो निर्माण हुन लागेको हो। जिल्ला तथा नगरको विभिन्न भागमा वर्षेनी गर्मी याममा नगरपालिकाको उत्तरी भेग जंगलसँग टाँसिएकाले सर्पले विगतमा सर्वसाधारणलाई दुःख दिँदै आएको छ। अब उपचार केन्द्र बनेपछि सर्पले डसेका सर्वसाधारणको उपचारमा सहज हुनेछ।’
निर्माण हुने यस उपचार केन्द्रमा आकस्मिक कक्ष, आईसीयु, ल्याब, उपचार कक्ष, प्रतिक्षा कक्ष, चिकित्सक कक्ष, आपाङ्गमैत्री सहित सुविधायुक्त भवन निर्माण हुने यूएनडिपीका इन्जीनियर अभय कर्णले बताए।
सर्पदंश उपचार केन्द्रमा आवश्यक चिकित्सक, औषधी र उपचारका लागि आवश्यक उपकरण, विरामीका लागि २० वटा बेड, ल्याबका लागि उपकरण, एम्बुलेन्स, मोबाईल एप्लिकेशन, डिजिटल मोनिटर तथा मेटेरियल समेतको व्यवस्था मिलाइने कर्णले जनाए।