फाइल तस्बिर
काठमाडौं- नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चिकित्सकहरुको पदस्थापन समायोजन ऐन र जेष्ठता विपरीत भएको भन्दै गम्भिर ध्यानाकर्षण गरेको छ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वाग्रही रुपमा गरिएको पदस्थापन तत्कालै सच्याउन माग गरेको छ। संघले ऐन र कानुन अनुसार निश्चित कार्यविधि र मापदण्ड अनुसार वैज्ञानिक र पारदर्शी रुपमा पदस्थापन गर्न पनि माग गरेको छ।
चिकित्सकहरुको विवादास्पद र पूर्वाग्रही ढंगमा पदस्थापन भएको ठहर गर्दै संघले तत्कालै नसच्याए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।
‘चिकित्सकहरुको पदस्थापन बर्तमान समायोजन ऐन र जेष्ठता बमोजिम नभएको सम्बन्धमा नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ’ संघका महासचिव डा लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा पूर्वाग्रही ढंगबाट कुनै व्यक्ति विशेषलाई लक्षित गर्दै शक्ति र दबाबमा समायोजन र पदस्थापन गरिएकोप्रति संघ आपत्ति प्रकट गर्दछ।’
मन्त्रालयबाट पछिल्लो समयमा भइरहेको पदस्थापनको काममा तीन वटा आरोप लाग्न थालेको छ।
पदस्थापनका क्रममा मन्त्रालयमाथि लागेको पहिलो र सबैभन्दा ठूलो आरोप हो, आर्थिक चलखेलको।
दोस्रो आरोप हो, राजनीतिक अस्थाका आधारमा र पहुँचका आधारमा हुने पक्षपातकाे र तेस्रो आरोप हो, केही कर्मचारीको समायोजनका क्रममा जानीजानी नाम छुटाइदिनु।
पदस्थापनका क्रममा कर्मचारीलाई रोजेको कार्यालय मिलाउने भन्दै ८० लाख रुपैयाँ भन्दा बढी रकम संकलन भइसकेको आरोप समेत मन्त्रालयलाई लागेको छ।