जनकपुर- प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयमा दुई जना निर्देशक पदस्थापन भएका छन्।
साउन ९ गते निर्देशक डा. प्रमोदकुमार यादव कार्यालयको कामले काठमाडौं गएका बेला साउन १० गते हरिश्चन्द्र साह निर्देशकको जिम्मेवारी पाएको भन्दै हाजिर भएपछि २ जना निर्देशक भएका हुन्।
यादव काठमाडौंबाट फर्किएपछि डा. यादव र साहबीच को निर्देशक भन्नेमा ठूलै विवाद उत्पन्न भएको छ। यसपछि कसलाई निर्देशक मान्ने भनेर कर्मचारीहरु अन्यौलमा परेका छन्। उनीहरू दुवैले आफूलाई निर्देशक भएको दाबी गरेपछि कार्यालयमा विवादसमेत भएको छ।
समायोजनमा परेर प्रदेश २ मा हरिश्चन्द्र साह आएको तथ्यांक अधिकृत सुरेश यादवले बताएका छन्। साहले समायोजनका क्रममा ‘कामकाज गर्नू’ भनेर पत्र पाए पनि अर्का निर्देशक डा. प्रमोदकुमारको सरुवा नभएकाले समस्या भएको हो।
साह र डा. यादव दुवै ११औं तहका कर्मचारी भएकाले कसलाई निर्देशक मान्ने भन्ने अन्योल छ। प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा एक साताअघि नै पत्र लेखेर जानकारी गराएको भए पनि अहिलेसम्म प्रतिउत्तर नआएको कर्मचारीले बताएका छन्।
बुधबार (आज) कार्यालय समयमा ‘निर्देशक डा. प्रमोदकुमार यादव’ भनेर बोर्ड झुन्डयाइएको थियो। तर, दुवैजना कार्यालयमा उपस्थित थिएनन्।
साह पनि कार्यालयकै कामले काठमाडौं गएको कर्मचारीले बताए। उनी स्वास्थ्य निर्देशनालयको निर्देशक आफू नै हुनुपर्ने भन्दै कागजपत्र मिलाउन काठमाडौं गएको बुझिएको छ।
बुधबार (आज) डा. यादव कार्यालयकै कामले बाहिर गएको कर्मचारीले बताए। डा. यादव पनि साउन ९ गते निर्देशकमा आफू नै रहनुपर्ने भन्दै ‘मिलाउन’ काठमाडौं गएको कर्मचारी बताउँछन्। उनी पटक–पटक मुख्यमन्त्री कार्यालय पनि पुगेका थिए।