काठमाडौं— राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका तीन जनाको नाम सिफारिस गरिएको छ।
बुधबार बसेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको अन्तिम नाम टुंगो लगाएको हो।
शिक्षा मन्त्रालय स्रोतका अनुसार समितिले एक नम्बरमा प्राडा सुरेन्द्र शेरचन, दुई नम्बरमा प्राडा शम्भुकुमार पहारी र तीन नम्बरमा प्राडा श्रीकृष्ण गिरीलाई सिफारिस गरेको छ।
समितिले सिफारिस गरेको नाम आज मन्त्रिपरिषद्मा लैजाने तयारी भएको शिक्षा मन्त्रालय स्रोतले जानकारी दियो।
‘उपाध्यक्षका लागि दरखास्त दिएका उम्मेदवारमध्ये व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा अन्तर्वार्ता लिई समितिले योग्यता पुगेका आवेदकमध्येबाट उपाध्यक्ष नियुक्तिका लागि सम्भावित तीन जनाको नामको अन्तिम टुंगो लगाएर मन्त्रालयमा बुझाइसकेको छ’, मन्त्रालय स्रोतले भन्यो, ‘सम्भवत आजको मन्त्रिपरिषद्ले यसको टुंगो लगाउने छ।’
सिफारिसको एक नम्बरमा परेका डा शेरचन मानसिक अस्पतालका पूर्व निर्देशक हुन्। पाटन अस्पतालमा उनकै अगुवाइमा मानसिक रोगका विषयमा अध्यापनको काम सुरु भएको थियो। उनले रसियाबाट एमबिबिएस र एमडी अध्ययन गरेका हुन्।
दोस्रो नम्बरको सिफारिसमा परेका डा पहारीले लामो समय वीर अस्पतालमा काम गरेका थिए। उनी इन्टरनल मेडिसिनका विज्ञ हुन्। अवकासपछि उनले लुम्बिनी र युनिभर्सल मेडिकल कलेजमा प्राध्यापनको काम समेत गरेका थिए। उनी कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा निजी चिकित्सक समेत थिए।
तेस्रो नम्बरको सिफारिसमा परेका डा गिरी हाडजोर्नी विशेषज्ञ हुन्। उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टार हुन्। चिकित्सा शिक्षा ऐन अनुसार शुल्क निर्धारण समितिको सदस्यका रुपमा समेत उनले काम गरेका छन्। हाल उनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन्।
उपाध्यक्ष पदका लागि आवेदन दिएका नौ जना डाक्टरमध्ये साउन २८ र २९ गते अन्तर्वार्ता प्रस्तुतीकरणपछि तीन जनाको नाम सिफारिसमा परेको हो।
उपाध्याक्षको लागि आवेदन दिएका ११ डाक्टरमध्ये दुई जनाको भने आवेदन रद्द भएको थियो। प्राडा प्रमोदकुमार सर्राफ र प्राडा जेएन पाण्डेय ‘हिमाली’ले सो कुरा लिखित रुपमा नदिएपछि आवेदन रद्ध भएको थियो ।
प्राडा श्रीकृष्ण गिरि, प्राडा शम्भुकुमार पहारी, प्राडा सुरेन्द्र शेरचन, प्राडा राजेन्द्रप्रसाद साह, प्राडा रमेशचन्द्र सिंह, प्राडा यहुनचन्द्र शिवाकोटी, प्राडा तरुण पौडेल, डा निलमणि उपाध्याय र प्राडा पारसकुमार पोखरेलले आवेदन दिएका थिए।
समितिसमक्ष प्रस्तुतीकरण र अन्तर्वार्तामा आवेदकहरुले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भएपछि आयोगको नेतृत्वदायी भूमिका बहन गर्ने सम्वन्धी सोचपत्र तथा ४ वर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण दिएका थिए।
समितिले खुला प्रतिस्पर्धाबाट उपाध्यक्ष छनोट गर्न गत १ देखि १५ साउनसम्म म्याद दिएर आवेदन मागेको थियो। त्यसअघि आवेदन हालेका ६ जनाको आवेदन रद्ध गर्दै आयोगले दोस्रो पटक आवेदन मागेको थियो।
उपाध्यक्ष नियुक्ति गर्न सरकारले गठन गरेको सिफारिस समितिले उपाध्यक्षका लागि दरखास्त हाल्न साउन १ गते दोस्रो पटक सार्वजनिक सूचना जारी गरेको थियो।
नयाँ सूचना अनुसार साउन १५ गतेसम्म उपाध्यक्षका लागि इच्छुक उम्मेदवारले आवश्यक प्रक्रिया पूरा गरी दरखास्त हाल्न समय दिइएको थियो। सोही अनुसार आज अन्तिम दिनसम्म ११ जनाले आवेदन दिएका थिए।
गत चैत ४ गते बसेको आयोगको पहिलो बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा आयोगको कार्यकारी अधिकार रहने उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार सिफारिस समितिमा लोक सेवा आयोगको अध्यक्ष संयोजक रहने व्यवस्था छ।