काठमाडौं- ‘प्रधानमन्त्री केपी ओलीको पछिल्लो स्वास्थ्यस्थितिबारे बालुबाटारमा छलफल भएको हो, चिन्ता पनि व्यक्त भएको हो तर उपचारका लागि कहाँ लैजाने वा के गर्ने भन्नेबारे कुनै टुंगो लागिसकेको छैन,' प्रधानमन्त्री ओली निकट एक नेताले बिहीबार राती स्वास्थ्यखबरसँग भने, ‘यसबारे अझै छलफल होला।’
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नदेखिएपछि फेरि उनका स्वास्थ्य सल्लाहकार चिकित्सकहरु छलफलमा बसेका छन्।
बिहीबार मात्र प्रधानमन्त्री निवास बालुबाटारमा सहयोगी चिकित्सकहरु पुगेका थिए।
प्रधानमन्त्रीको ओलीको मिर्गौलामा क्रियटिनिनको मात्रा बढेको बताइएको छ। मिर्गौलामा क्रियटिनिनको मात्रा बढ्नु भनेको काम कम गर्दै जानु हो।
अतः चिकित्सकले यसअघि उपचार गराएकै अस्पताल सिंगापुर जान सुझाव दिएका छन्।
मिर्गौला फेरेका प्रधानमन्त्री ओली गएको साउन १८ गते ‘फलोअप’का निम्ति सिंगापुरतर्फ प्रस्थान गरेका थिए।
प्रधानमन्त्री ओली ९ दिनको सिंगापुर बसाइपछि सोमबार फर्केका थिए।
तर स्वास्थ्यमा अपेक्षाकृत सुधार नभएपछि चिकित्सकहरु छलफलमा बसेको प्रम ओली निकट स्रोतको भनाइ छ।
‘कतिपय चिकित्सकले अब फेरि बाहिर नै लैजाने सल्लाह दिनुभएको छ,’ स्रोतले भन्यो, ‘यसको टुंगो भोलि लाग्ने छ।’
साउन १८ गते सिंगापुर पुगेका प्रधानमन्त्री ओलीले त्यहाँको ’नेसनल युनिभर्सिटी हस्पिटल’मा स्वास्थ्य परीक्षण गरिएका थिए।