काठमाडौं- बिहानै झापाली कार्यकर्ता प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगे।
झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्ताहरु हुल बाँधेरै आएपछि प्रधानमन्त्री ओलीले भने, 'म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो?' उनले ती कार्यकर्तालाई आफू स्वास्थ्य रहेको तर बाहिर बढी प्रचार भएको बताएको प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए।
ओली बिरामी भएकोबारे बिहीबार कतिपय अनलाइन र आजका केही दैनिक पत्रिकाले लेखेका थिए।
झापा ५ नं निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा चलाइएका हल्ला निराधान भएको बताए। 'हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो। एउटा सिटामोल खाइदिएपछि सबै निको भयो। बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो,' उनले भने।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकलाई धन्यवाद पनि दिए।
'गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढीऔंलादेखि कान्छीऔंलाका नङसम्म परीक्षण गरेर आएको छु। डाक्टरले सबै अंग ठिक छ भनेका छन्। अब २०–२५ वर्ष केही हुँदैन भन्छन्,' उनले भने आश्वस्त पार्दै भने, 'त्यसकारण म बिरामी होइन।'
प्रधानमन्त्री ओलीले आफू १५ वर्षअघि बिरामी भएको र १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेको पनि स्मरण गरे। 'म अहिले होइन, १५ वर्षअघि बिरामी थिएँ। १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेको हुँ। त्यही कहानीलाई अहिले प्रचार गरिएको छ,' उनले भने, 'मलाई बिरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ। बिरामी हुँदाहुँदै बहुमत दिलाएँ। सरकार बनाएँ र बिरामी हुँदाहुँदै पार्टी एकीकरण गरेँ।'
प्रधानमन्त्री ओली यतिबेला बालुवाटारमा जारी नेकपा सचिवालय बैठकमा सहभागी छन्।
गत साता सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराई उनी स्वदेश फर्किएका थिए। (तस्बिर : kpsharmaoli.com)